दमक/दमक ५ स्थित जाल्पा देवी कीर्तन मण्डलीले १६ औं बार्षिकोत्सव मनाएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाकक्षमा औपचारिक कार्यक्रम गरी कीर्तन मण्डलीले बार्षिकोत्सव मनाएको हो ।
कीर्तन मण्डलीका अध्यक्ष यदुराम तिम्सिनाको अध्यक्षता र प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कीर्तन मण्डलीकी संस्थापक बयोबृद्धा नरमाया गुरुङलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी कीर्तन मण्डली सञ्चालनमा सक्रिय ३२ जनालाई खादा ओढाएर सम्मान गरिएको थियो ।
सो कीर्तन मण्डलीले दाताहरुबाट सहयोग जुटाएर ८ बर्ष अघि ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान परिसरमा लक्ष्मीको मन्दिर स्थापना गरिदिएको भन्दै प्रतिष्ठानका अध्यक्ष खतिवडाले कीर्तन मण्डली परिवारको प्रशंसा गरे । त्यस अवसरमा कीर्तन मण्डलीले विभिन्न भजन कीर्तन प्रस्तुत गर्नुका साथै पूजाआजा विशेष कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष नेत्र सापकोटाले बताए ।
कीर्तन मण्डलीका सचिव बिमला पोखरेलले सञ्चालन गरेको कार्यक्रममा मण्डलीका कोषाध्यक्ष भवानी घिमिरेले आय व्यय विवरण प्रस्तुत गरेका थिए । पेश भएको विवरण अनुसार कीर्तन मण्डलीमा हाल सम्मको कूल आय १ लाख ५२ हजार २०२ रुपैयाँ रहेको छ भने संस्थागत गतिबिधिहरु सञ्चलनमा हाल सम्म ५७ हजार ७ सय ५५ रुपैयाँ खर्च र ४१ हजार रुपैयाँ लगानी रहेको उल्लेख छ ।



