दमक/  यतिबेला किसानका खेतमा धान पाकेको छ । बर्षभरीका लागि खाने अन्न जोहो गर्ने समय हो यो । तर हात्तीले झापाका किसानहरुको बर्षभरी खाने धानको बोटमै नोक्सान पुरयाउन थालेपछि बाहुण्डाँगीमा हात्ती धपाउन ट्रयाक्टरमा साइरन जोडिएको छ।  सात वटा ट्रयाक्टरमा साइरन जोडेर हात्ती धपाउन चर्को आवाजमा साइरन बजाउनु पर्ने बाध्यताको सिर्जना भएको हो ।

भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्र्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ । विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको कारण नयाँ उपाय लगाइएको कार्कीले बताए ।

साइरन बजेपछि हात्ती आएको थाहा पाएर गाउँले पनि सचेत रहने गरेको  उनको भनाइ छ ।

झापाका हल्दीबारी, कचनकवल, दमकको उत्तरी क्षेत्र बेलडाँगी, दुम्से, कमल गाउँपालिका वडा नं ५को चाँजु , टुकुरे, शिवसताक्षीको उत्तरी क्षेत्र, कन्काईको उत्तर क्षेत्र लगायत  भद्रपुर, बुद्धशान्ति,  लगायतका क्षेत्रमा जंगली हात्तीका कारण बर्षेनी जनधनको क्षति हुँदै आएको छ । हात्ती पीडित झपाली सर्वसाधारणहरुले हरेक पटकका निर्वाचनबाट सांसद, मन्त्री र प्रधानमन्त्री समेत पाएपनि यो समस्याबाट मुक्ती पाएका छैनन ।

Facebook Comments Box