दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेलको विषयमा असन्तुष्टि जनाएका छन् ।
उनीहरुले तालमेल अनुचित भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतना पत्र लेखेका छन् ।
उनीहरुले एमालेसँग गरिएको तालमेलले कांग्रेस, कम्युनिष्टसँग असन्तुष्ट रहेका मतदातालाई राप्रपामा मत दिने अवस्थालाई अन्त्य गरेको बताएका छन् ।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानका लागि गरिएको तालमेलले जनताबाट विश्वास गुमाएको, पार्टीद्धारा अपवित्र घोषणा गरिएका मध्येको एउटा दल नेकपा एमालेसँग चुनावी तालमेलको सम्झौता गर्नु सर्वथा अनुचित छ । यो निर्णयले सिंगो पार्टी, सिद्धान्त, आदर्श, अठोट र संकल्प तथा जनताप्रति गरिएको प्रतिज्ञामाथि विपरीत रहेको पनि जनाइएको छ । उनीहरुले एमालेसँग गरिएको गठबन्धनले राप्रपालाई क्षति पुग्ने बताएका छन् । सचेनता पत्रमा १८ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ– हाम्रो यो धारणामा ९० प्रतिशत कार्यकर्ताहरुको समर्थन रहेको छ– असन्तुष्टमध्येका नेताले भने ।
सचेतनापत्र बुझाउनेहरुमा अर्जुन राई, दीपबहादुर शाही, किशोरबहादुर कार्की, जगत गौचन, नानीमैया आचार्य, जनकराज पाठक, आङ डिमा शेर्पा, मीना सुवेदी, राधेश्याम साह, इनु अधिकारी, केदार कोइराला, सावित्रा क्षेत्री, केशव रेग्मी, पूजा राणा, रामहरि थापा, रामेश्वर थापा, राजनारायण साह, सुष्मा मिश्र, यास्मिन ढुंगाना रहेका छन् । त्यसैगरी बिन्दा गिरी, पदम तामाङ, अष्टमाया तामाङ, इन्दिरा मिश्र, सुष्मा मिश्र, शिवशंकर यादव रहेका छन् ।
उनीहरुले मंसिर ४ मा हुने निर्वाचनको विषयमा गरिएको निर्णय र लिएको नीतिले राप्रपालाई दूरगामी असर पार्ने ठहर गरेका छन् । समानुपातिकमा पार्टीको योगदानभन्दा पनि नेताका नातेदार र निकट रहेका व्यक्तिहरुलाई प्राथमिकतामा राखेको भन्दै उनीहरुको असन्तुष्ट रहेको छ ।

