दमक/ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार हिक्मत कुमार कार्कीले एमाले नेतृत्वमा सरकार बनाएर चुनाव सकिएको तीन महिना भित्र सबै नेपालीलाई नागरिकता दिइने आश्वासन दिएका छन ।
झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र क अन्तर्गतको केन्द्रविन्दुका रुपमा रहेको आफनो गृह नगर गौरादहमा आज सोमबार आसन्न चुनाव केन्द्रित पत्रकार भेटघाट मार्फत प्रदेश एक सरकारका पूर्व मन्त्री समेत रहेका नेता कार्कीले त्यस्तो प्रतिबद्धतासहितको आश्वसन दिएका हुन ।
उनले हालै गठबन्धन सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकमा आफनो पार्टीका सांसदहरुले राखेका संशोधनका बुँदाहरु नसमेटिएका कारण नागरिकता विधेयक कार्यन्वयनमा आउन नसकेको तर एमालेको सरकार भए तुरुन्तै जन्मका आधारमा नागरिकता पाएका र बैबाहिक अंगिकृत नागरिकताका हकदारलाई नागरिकता दिइने जिकिर गरे ।
एमालेले बाहेक अरु दलले जस्तो सुकै सरकार बनाएपनि बिकास निर्माण गर्न नसक्ने भन्दै ४ दशक पुरानो हुलाकी मार्गको योजना, गौरीगञ्ज स्मार्ट सिटीको योजना, लखनपुरको आदिवासी रंगशाला निर्माणको योजना लगायत धेरै योजनाहरु एमाले सरकार भए मात्रै पुरा हुने नभए अधुरै रहने चेतावनी पनि दिए । स्थानीय बाहेक विराटनगर विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायत राष्ट्रिय गौरवका योजनाहरुको समेत फेहरिस्त प्रस्तुत गर्दै एमालेले गरेका कामको प्रचार पत्रकारहरुले नगरेको भनि ब्यंग्यात्मक टिप्पणी समेत गरे । एमालेले गरेका कामहरुनै आगामी मसिंर ४ मा हुने चुनाव जित्ने आधार हुन, हामी प्रत्यक्ष तर्फनै कम्तीमा एक सय सिट जित्छौं – कार्कीले भने । उनले केही हद सम्म झापाको दमक र आसपासका पालिकाहरुमा सन्तुलित बिकास हुन नसकेको स्विकार्दै त्यसैलाई आधार बनाएर यहाँ बिकास भएन भन्ने तर्क गर्नु नहुने पनि बताए ।