खोटाङ/ आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना  उत्रिएका छन् ।

नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका छन् । एकै वडाका तीन नेताले गत आइतबार आ–आफ्नो राजनीतिक दलबाट र्यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पाँचकर्ण र राकेश साविकको बुइपा गाविस वडा नं २ का स्थायी बासिन्दा हुन् भने, वीरबलकाजी साविकको बुइपा–१ का हुन्।

पाँचकर्ण काका र राकेश नातामा भतिजा पर्छन् । बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्वका साथ हेरिएको छ ।

उम्मेदवारी दर्तासँगै तीनैजना नेताहरु चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी २६ जनाको उम्मेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उम्मेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायतका चटारो सुरु भएको छ ।

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएकामा एकजनाले फिर्ता लिएका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी गठनबन्धन भएको जिल्लामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्नुभएका कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनको तर्फबाट वीरबलकाजी तथा राकेशले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दिनुभएको छ । केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भए पनि ती दुई दलले जिल्लामा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । दश स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेशका खानेपानीमन्त्री रामकुमार राई तथा प्रदेशसभा ‘क’मा १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका १ नं प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राई चुनावी मैदानमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा प्रदेश समिति सदस्य पाँचकर्ण राई र प्रदेशसभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाललाई उम्मेदवार बनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डा. कृष्णकुमार राई तथा प्रदेशसभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उम्मेदवारी दिएका छन्।

Facebook Comments Box