दमक/ लामखुट्टेको टोकाइका कारण फैलिएको डेंगी संक्रमण रोक्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई झापाको कमल गाउँपालिकाको शहरोन्मुख क्षेत्रमा सांकेतिक रुपमा सञ्चालन गरिएको छ । देशैभर डेंगीको संक्रमण बढ्न थालेपछि लामखुट्टेुको लार्भा नष्ट गर्न सांकेतिक आव्हान गर्दै यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।
वडा नम्वर २ स्थित क्याम्पा बजार , ३ स्थित केर्खा बजार , वडा नं ५ स्थित पाडाजुँगी र आसपासमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहित वडाध्यक्ष एवं अन्य जनप्रतिनिधिहरु सहित स्वस्थ्यकर्मीको टोलीले पानी जम्ने स्थान , पुराना टायर , पुराना जुत्ता चप्पल, प्लास्टिका भाडा ,पानीका ट्यांकी , गमला, लगायत पानी जम्ने ठाउमा पुगेर लामखुट्टेुको लार्भा नष्ट गरेको जनाइएको छ ।

कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्नी प्रसाद कोईरालाले केर्खा बजारमा लामखुट्टेुको लार्भा प्रशस्तै भेटिएको बताए । उनले देखिएको लार्भा नष्ट गरिएपनि अदृश्य रुपमा अझै लार्भाहरु रहन सक्ने र दिनदिनै यसको लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले सतर्कता अपनाउँदै नष्ट गर्न वडाबासीलाई आव्हान गरिएको बताए । लार्भा उत्पादन रोक्न फुलदानी, टायर तथा अन्य कुना काप्चामा जम्ने पानीलाई हप्तामा दुई पटक अनिवार्य सफा गर्नु पर्ने स्वास्थ्य सरोकारवालाहरुको सुझाव छ ।
स्वास्थ्य शाखा प्रमुख अर्यालले डेंगुको संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा खटिरा तथा विमिरा आउने, रिंगटा लाग्ने हाडजोर्नी र माँसपेशीहरु र ढाड दुख्ने लगायतका लक्षण आउने भन्दै त्यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थाको सम्पर्कमा जान सर्वसाधारणलाई आग्रह गरिएको बताए । गाउँपालिकाले वडा नम्वर २ स्थित तोपगाछी स्वास्थ्य चौकी र वडा नम्वर ६ स्थित लखनपुर स्वस्थ्य चौकीमा त्यस्तो किसिमको लक्षण भएका बिरामीको निशुल्क परिक्षण र उपचार गर्ने व्यवस्था मिलाएको बताए ।
