दमक/ नेपाली कांग्रेस दमक नगर समितिले संविधान दिवस र लौह पुरुष गणेशमान सिंहको स्मृति दिवसको अवसर पारेर बाल आश्रममा सहयोग गरेको छ ।
पार्टीले दमक २ स्थित हाम्रो बाल आश्रममा बस्दै आएका असहाय बालबालिकाहरुको सहयोगार्थ घरायसी प्रयोजनका लागि आवश्यक १० हजार मुल्य बराबरको सामग्रीहरु प्रदान गरिएको कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति युवराज खनाल (सागर)ले जानकारी दिए । दिवसको अवसरमा गरिँदै आएको औपचारिक कार्यक्रम भन्दा अनाथ बालबालिकाहरुको आवश्यकता परिपूर्तिमा सहयोग पुरयाउनु महत्वपूर्ण हुने ठानेर यसकिसिमको सहयोग प्रदान गरिएको खनालले बताए ।
कांग्रेस सम्बद्ध नेविसंघले भने संविधान दिवसको अवसर पारेर आज साँझ दमकको गणतन्त्र चोकमा दिपप्रज्वलन कार्यक्रम राखेको नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले जानकारी दिए । लोकतन्त्र र संघीयतासहितको अधिकार सम्पन्न नेपालको संविधान २०७२ प्राप्तीको लागि योगदान गर्ने सबैप्रति सम्मान जनाउँदै र संविधानको रक्षाका लागि आव्हान गर्दै नेविसंघले जिल्लाका अन्य विभिन्न ठाउँहरुमा समेत दिपप्रज्वलन कार्यक्रम राखेको उनले बताए ।
