दमक/ प्रदेश एकमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान शुरु भएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले अभियानको उदघाटन गरेका हुन ।
सो अवसरमा मुख्यमन्त्री राईले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा अभियानले मानिसको चेतना बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताए ।
उनले नागरिकको जिवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताए । सो अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरिकहरुले आ–आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडी बढेमा आत्महत्या दर घटन सक्ने बताए । यसैगरी सो कार्यक्रममा सामाजिक बिकास मन्त्री राजन राई र स्वास्थ्य मन्त्री जयराम यादवले आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरुले प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु–सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक,चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुती दिएका थिए भने प्रादेशिक अस्पताल बिराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण राखेका थिए ।
आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९, प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका झापाको दमक, मोरगंसहित सदरमुकामहरूमा समुदाय–प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत हरेक टोल र समुदायमा पुग्ने गरी एक बर्ष सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ ।


