दमक/ गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर ठग्नेहरूलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले मिटरब्याजमा जनतासँग पैसा ठग्नेहरूलाई स्थानीय अनुसन्धान, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटरब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र उनीहरूले दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको बताए ।
मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नका लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मिटरब्याजबाट ठगिएकाहरूलाई उजुरी दिन आग्रह गर्दै मन्त्री खाणले अहिलेसम्म १९ सय ३७ जना मिटरब्याजी पीडितको उजुरी परेको बताए । प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा एक हजार तीन सय ३०, बाग्मतीमा दुई सय दुई, गण्डकीमा ३५, लुम्बिनीमा दुई सय ११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको मन्त्री खाँणले जानकारी दिए । गृहमन्त्री खाणले अहिलेसम्म परेका र अब पर्ने उजुरीमाथि मन्त्रालयले तत्काल छानबिन र अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए ।