कमल/ झापाको कमल ५ पाडाजुङ्गी स्थित गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानमा रमा विन्ध्यबासिनी बैदिक गुरुकुल विद्यालय सञ्चालनका लागि निर्माण गरिएको भवन दाता परिवारले प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानमा आयोजीत एक कार्यक्रमका विच भवन निर्माणकर्ता तथा दाता संस्थाका संस्थापक संरक्षक डिल्लीराम गुरागाँई तथा कमला देवी गुरागाँईले सो भवन हस्तान्तरण गर्नु भएको हो । उहाँहरुको परिवारले डेढ करोड रुपैयाँको निजी खर्चमा निर्माण गरेको तीन तले भवनमा गुरुकुल सञ्चालन गरिएको हो । गुरुकुल भवन हस्तान्तरण गर्नु भएका गुरागाँईले यस अघि समेत विभिन्न स्थानमा बजार, मन्दिर लगायतका सार्वजनिक संरचनाहरु निर्माण गरि दिनु भएको थियो । यसै शैक्षिक शत्रबाट सञ्चालनमा आएको विद्यालयमा हाल १७ जना बटुकहरु अध्ययननत रहेको प्रतिष्ठानका केन्द्रिय सदस्य खेमराज गुरागाँईले जानकारी दिनु भएको छ । माध्यमिक तह सम्म नेपाल सरकारद्वारा स्विकृत पाठ्यक्रम अनुसार पठन पाठन गराउने लक्ष्य सहित गुरुकुल सञ्चालनमा ल्याईएको प्रतिष्ठानले जनाएको छ ।

२०५१ सालमा स्थापित प्रतिष्ठानले विश्वव्यापी रुपमा रहेका गुरागाँई बन्धुहरुलाई गोलवद्ध गराउने र बैद्धिक सनातन संस्कार संरक्षण्का लागि विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका अध्यक्ष तुलसा गुरागाँईले जानकारी दिनुभयो । भवन हस्तान्तरणसँगै तिज विशेष कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा कमल ५ का वडाध्यक्ष लालबहादुर विष्ट, प्रतिष्ठानका संस्थापक, अगुवाहरु, विभिन्न जिल्लाका बाट आएका सदस्य तथा पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।