दमक/ प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दमक वडा नम्बर ९ का बिपन्न १० परिवारको बसोबासका लागि घर निर्माण शुरु भएको छ । दमक ९ शिखर टोलका दलित समुदायका १० बिपन्न परिवारको लागि शुक्रबार आज घर निर्माण शुरु गरिएको हो । प्रदेश सभा सदस्य अर्जुन राई सहित दमक नगरपालिकाका प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा घर निर्माणको शिलन्यास गरेका छन ।
कोही पनि घरबिहिन बन्न नपरोस भनेर प्रदेश सरकारले कार्यक्रम ल्याएको बताइएको छ । दमक नगर प्रमुख थापाले प्रदेशसहित संघिय सरकार र अन्य निकाय संगको सहकार्यमा नगरबासीलाई अधिकतम सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले दमकमा स्थानीय सरकारले यस बर्ष १ हजार परिवारको स्वास्थ्य बीमा गरिदिने, बिपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने जस्ता कार्यक्रम ल्याएको बताए । कार्यक्रममा दमक नगर उपप्रमुख भट्टराईले समयमै घर निर्माण पूरा गरि हस्तान्तरण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन । प्रति परिवार ३ लाख ५० हजार रुपैयाँ र लाभग्राहीको १० प्रतिशत सहभागितामा आगामी दुई महिना भित्रमा घर निर्माण सम्पन्न गरिने वडा अध्यक्ष कुवेर भट्टराईले बताए ।

Facebook Comments Box