दमक/ १० असारमा शुरु भएको दमक नगरपालिकाको ११ औं नगर सभा निष्कर्षमा पुग्न नसक्ने संकेत देखिएको छ । कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु र नगर सभाको अध्यक्षता गर्दै आएका नगर प्रमुख राम थापाबीचको टकरावका कारण नगर सभा समयमै सम्पन्न हुन नसक्दा नगरबासीहरुले समस्या भोग्नुपर्ने अवस्था आएको हो ।
कार्यपालिकाबाट पारित भई नगर सभामा पेश भएको आर्थिक बर्ष २०७९/ ०८० को बजेटसहितको बार्षिक नीति, कार्यक्रममाथि नगर सभामा नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले लिखित रुपमा २९ बुँदे मागसहितको संशोधन प्रस्ताव राखेपछि बारबार स्थागित हुँदै आएको छ ।
नगर सभाबाट आगामी बर्षका लागि बजेट तथा कार्यक्रम पारित गरिनुपर्नेमा आफना मागहरुको सुनुवाई नभएको भन्दै नगर सभामा एमालेका तर्फबाट निर्वाचित नगर सभा सदस्यहरुले उपस्थिती नजनाउँदा अहिले सम्म नगर सभा अनिर्णित बन्दै आएको छ । सोही सन्दर्भलाई लिएर नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले आज मंगलबार पार्टी नेताहरुको उपस्थितीमा दमकमा पत्रकार सम्मेलन गर्दै नगर सभामा आफूहरुले लिखित रुपमा राखेका २९ बुँदे माग पूरा नभए अझै पनि नगर सभामा उपस्थिती नजनाउने र यो अन्योल कायमै राख्ने चेतावनी दिएका छन । उनीहरुले नगर सभामा उठाइएका संशोधनका बुँदाहरु बिषयमा छलफल गर्न कार्यपालिका बैठक तर्फ फर्किनुपर्ने अडान पनि राखेका छन ।
संविधानमै प्रतिपक्ष रहने व्यवस्था गर्न माग

पत्रकार सम्मेलनमा नगर कार्यपालिकाका सदस्य तथा एमाले नेता लोकबहादुर धिमालले संविधानमा स्थानीय सरकारको प्रतिपक्ष नरहने व्यवस्था रहेपनि अब संविधान संशोधन मार्फत स्थानीय सरकारको पनि प्रतिपक्षी दल हुने व्यवस्था उल्लेख गरिनुपर्ने बताए ।
एमालेका जनप्रतिनिधिले नगर प्रमुख र उपप्रमुख फरक पार्टीबाट निर्वाचित भएका कारण प्रतिपक्षीय भुमिका निर्वाह गरेका र संविधान, स्थानीय सरकार सञ्चालन ऐन विपरित संसदीय दल खडा गरेको भनि सार्वजनिक समाचारलाई लक्षित गर्दै धिमालले भने ‘तीन तहका सरकार भएपछि तीनै तहमा प्रतिपक्षी दल हुन्छ । संविधान भनेको संशोधन हुने बिषय हो अहिले नभए अब संशोधन गरेर भएपनि राख्नु पर्छ । ” उनले समाचारहरुमा बाहिर आए जस्तो आफूले नगरपालिकामा गाडीको सुविधा माग नगरेको बरु नगरपालिकाले चाहे आफू व्यक्तिगत रुपमा निशुल्क गाडी दिन हैसियत राख्ने पनि उल्लेख गरे । ‘ हामीलाई माग्ने मान्छे जस्तो प्रचार गरियो, हाम्रो दिन तयार छौं तर माग्दैनौं ‘ धिमालले भने । धिमालले नगर प्रमुख राम थापा र आफूबीच दाई दाईको सम्बन्ध रहेको भन्दै “एउटा दाईले अर्को दाईलाई पेलिरहने ” हो भने सहेर नबस्ने पनि चेतावनी दिए ।
संसदीय दल होइन, पालिका दल छ -ओली

पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका सहइञ्चार्ज समेत रहेका निवर्तमान नगर प्रमुख रोमनाथ ओलीले संविधानमा नभएपनि आफनो पार्टीको विधानमा पालिका दलको व्यवस्था रहेको र त्यस अनुरुप पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले भुमिका निर्वाह गर्ने बताए । उनले यसअघिको स्थानीय तहमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मिलित पालिका दल रहेको र त्यसमा छलफल गरेरै नगर सभामा प्रस्तुत हुने गरिएको जिकिर गरे ।
पत्रकारहरुको जिज्ञासा मेटदै आफना धारणा राखेका नगर प्रमुख ओलीले कहिले नगर सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्णय गर्ने सवालमा पार्टीले बाहिरबाट हस्तक्षेप गर्न नहुने जिकिर गरे भने कहिले पालिका दल रहने पार्टीको विधानमा व्यवस्था भएको पनि तर्क गरे । नगर सभामा देखिएको अडचन फुकाउन राजनीतिक दलहरुबीचको वार्ता र संवादका बिषयमा पत्रकारहरुले राखेको जिज्ञासा मेटदै उनले नगर सभामा उपस्थित एमाले, कांग्रेस र राप्रपाका स्थानीय नेताहरुबीच त्यस किसिमको प्रयासहरु जारी राखिएको भएपनि सहमतिको बिन्दु कार्यपालिका बैठकनै हुने पनि स्पष्ट पारे ।
कार्यपालिकामा आफनो बहुमत रहेको एमालेले अघि सारेको कार्यपालिका बैठकको माग र नगर प्रमुखले खोजेको नगर सभामा एमालेका जनप्रतिनिधि ( जो बहुमत छन) को उपस्थिती परस्पर मेल नखाने अडान भएका कारण नगर सभा तत्काल औपचारिक रुपमा टुंगिने छाँटकाँट नदेखिएको हो । यसले नयाँ आर्थिक बर्षसंगै शुरु हुनुपर्ने नगर बिकासका कार्यक्रमदेखि विभिन्न कर, छुट सुविधा लगायत, सेवाग्राहीका लागि आवश्यक न्यूनतम कामकाज समेत प्रभावित पार्ने देखिन्छ ।