गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिकामा आज (बुधबार)देखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको समन्वयमा गौरीगञ्ज गाउँपालिकाले व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गरेको हो ।
गौरीगञ्ज गाउँपालिकाको पञ्जिकरण ईकाई गौरीगञ्जको आयोजनामा वडा नं. १ देखि ६ सम्मका सबै वडामा सेवा दिने गरि शिविर सञ्चालन गरिएको हो ।
प्रत्येक वडामा कम्तिमा ४ स्थानमा शिविर रहने गरि व्यवस्थापन गरेको शिविर असार २२ गते देखि असार २५ गतेसम्म रहने गाउँपालिका पञ्जिकरण ईकाई सेवाका फोकल पर्शन राजकुमार राजवंशीले जानकारी दिए ।
आज बुधबार पहिलो दिन वडा नं. १ मा १२ जना, २ मा १२ जना, ३ मा १२ जना, ४ मा ५ जना , ५ मा १ र ६ मा २ जना गरि जम्मा ४४ जनाले व्यक्तिगत घटना दर्ता गराएको फोकल पर्शन राजवंशीले जानकारी दिएका छन् ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर वडाका विभिन्न स्थानमा सञ्चालन हुने भएकोले सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका नागरिकहरुले निवेदन दिई आफ्नो नाम दर्ता गराउनका साथै व्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुले आफ्नो वडा कार्यालय वा पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई जस्ता व्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गराउन गाउँपालिकाले जानकारी गराएको छ ।
