दमक/ घर बहाल महासंघ नेपालको १२ औं स्थापना दिवसमा आज दमकमा अन्तरकृया तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसन्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ पिन्ट रगत संकलन भएको छ ।
घर बहाल उपभोक्त हकहित संघ झापाको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका सहभागीहरुले बहाल करलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
महंगोमा बहाल लगाए पनि थोरै रकमको सम्झौता देखाएर थोरै कर तिर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने भन्दै उनले करको रकमलाई सुलभ बनाएर दायरा बढाउन नगरपालिका लागिरहेको बताइन । कार्यक्रममा दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले बहाल कर तिरेर बहालबाट हुने आम्दानी बैध हुने बिषय कर दातालाई बुझाउनु पर्ने बताए ।
संघका जिल्ला अध्यक्ष विनोद कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, घर बहाल महासंघका प्रदेश १ संयोजक तथा केन्द्रिय उपाध्यक्ष सितारम खतिवडाले बोल्दै व्यवसायीलाई कर असुल्ने समुदायको रुपमा मात्रै नबुझेर ब्यवसायिक वातावरणमा स्थानिय सरकारले सहजिकरण गरिदिनु पर्ने बताए ।
