
दमक/ बाढीबाट प्रभावित दमक नगरबासीको उद्धार तथा राहतमा नगरमा क्रियाशील सबै राजनीतिक दलहरुलाई एकिकृत गराई अगुवाई गर्न संयूक्त गठबन्धनमा आवद्ध दलहरुले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । बाढी प्रभावितको उद्धार तथा राहतका लागि नगरमा रहेका संघ संस्था र सुरक्षा निकायको समन्वयमा समिति गठन गरी नगरपालिकाले सबैको सहयोग लिनु पर्ने भन्दै दलहरुले नगर प्रमुख रामकुमार थापालाई ध्यानाकर्षण गराएका हुन ।
वर्षाका कारण रतुवा, मावा र दिपिनी खोलामा आएको बाढीको कारण बस्तीहरूमा पानी पसेर नागरिकहरुले भोग्नु परिरहेको समस्यामा थप जिम्मेवार भएर उद्धार, राहत तथा व्यवस्थापनको काममा जुट्न नगर प्रमुख थापालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
स्थानीय सरकारबाट वर्षाको मौसम सुरु हुनु अघिनै यस सम्बन्धिको पूर्व तयारीहरु गर्नु पर्नेमा त्यसो हुन नसकेको प्रति गुनासो गर्दै तत्कालै यसबारेमा नयाँ निर्णयसहित अघि बढ्न नगरपालिकालाई सुझाव दिइएको छ ।
यस्तै बर्षाको समयमा नगरपालिका अन्तर्गत शिक्षा शाखाबाट सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन गर्ने सूचना तथा कार्यक्रम अघि सारेकोमा पनि गठबन्धन दलहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् । समय सहज नहुन्जेलसम्म समिति गठनको प्रक्रिया स्थगित गर्न पनि उनीहरुले माग गरेका छन् ।
ज्ञापन पत्रमा नेपाली कांग्रेस दमकका कार्यवहाक सभापति यूवराज खनाल (सगर), माओवादी केन्द्रका नगर अध्यक्ष रवि बस्नेत, राप्रपाका नगर अध्यक्ष हेम सुवेदी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरे, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराईले हस्ताक्षर गरेका छन ।