दमक/नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ ।

रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाले खेल क्षेत्र अब नेपाली समाजको एउटा अभिन्न अंग भइसकेको बताए । उनले खेल क्षेत्र र खेलाडीहरुलाई हेर्ने पुरानो दृष्टिकोण समाजमा बदलिइसकेको भन्दै मानिसको जिवन खेलकुद बिना अधुरो रहेको उल्लेख गरे । उनले खेलकुद महासंघ व्यवसायिक खेलकुद बिकासका निम्ति सदैव क्रियाशील रहेको पनि उल्लेख गरे ।
यस किसिमका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा उजागर गर्न पनि मद्धत पुरयाउने उनको भनाई थियो । प्रतियोगितामा पूर्णजित राई पहिलो, अजित महर्जन दोश्रो तथा देवेन्द्र खडका र रोयल राई तेस्रो भएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा हिमालय ब्लड किक बक्सिङले सहयोग गरेको थियो ।
