गौरादह/ झापाको गौरादह नगरपालिकामा- ७ र ११ वर्षीय दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध अदालतबाट म्याद थपको आदेश लिएर अनुसन्धान अघि बढाएको छ ।   पीडित परिवारले गौरादह– ३ का २९ वर्षीय तारावीर राईविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि सो मुद्धामा थप अनुसन्धानको प्रकृया अघि बढेको हो ।

गत ५ असारमा ७ वर्षीया बालिका र ८ असारमा ११ वर्षीया बालिकालाई राईले चकलेट  दिई फकाएर आफ्नो घरमा लगी जबर्जस्ती करणी गरेको भनी कार्यालयमा उजुरी परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । ‘स्कुलबाट आउने क्रममा चकलेट दिएर पछि पैसा दिने भन्दै आफ्नै घरको कोठामा लगेर करणी गरेको जाहेरी आएको छ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले भने, ‘दुवै बालिकालाई सँगै राखेर बलात्कार गरेको जाहेरी आएको छ । तर, मिति भने फरक–फरक छ ।’

ती बालिकाहरूले  शिक्षिकालाई भनेको र शिक्षिकाले घर–परिवारमा भनेपछि घटना बाहिरिएको डिएसपी गिरीले बताए ।

राईमाथि लागेको आरोप पुष्टि भएमा जन्मकैद हुनेछ । मुलुकी अपराध संहिताअनुसार १० वर्षमुनिका बालबालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने डिएसपी गिरीले बताए । यस्तै, १० वर्षमाथि र १४ वर्षमुनिका बालिकालाई जबर्जस्ती करणी भएको पुष्टि भए १८ देखि २० वर्ष कैद हुन सक्ने डिएसपी गिरीले बताए । राईमाथि दुईवटा मुद्दामा अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box