दमक/ आगलागीका कारण ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बिमा बापतको कूल पाँच करोड पचास लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीको बिर्तामोड शाखा मेनेजर द्रोणराज भट्टराई ( राजेश ) ले उद्योगका सञ्चालक ओमप्रकाश अग्रवाललाई पाँच करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बिमा बापत पहिलो पटकको सो रकम हस्तान्तरण गरिएको जनरल इन्स्योरेन्स बिर्तामोडले जनाएको छ । अहिले हस्तान्तरण गरिएको रकम क्षतिपूर्तिको पेश्की बापत भएको प्रमुख भट्टराईले बताए ।
झापा मेचीनगर नगरपालिका –१४ दुवागढीमा रहेको मनषा थाइफुड्समा गत माघ २९ गते आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको थियोे । आगलागीबाट ४३ करोड २५ लाखको क्षति भएको दाबी गरिएको छ । मनषा थाइफुड्स पूर्वकै ठूलो र झापाको एकमात्र चाउचाउ उद्योग हो । मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियो । आगलागीपछि अहिले उद्योगले उत्पादन नियमित गर्न सकिरहेको छैन ।
