दमक/ दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि १ अर्ब ६३ करोड ४० लाल ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
दमक नगरपालिकाको शुक्रबार शुरु भएको नगर सभामा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सो बजेटसहितका कार्यक्रम प्रस्तुत गरिन ।
त्यस अघि नगर प्रमुख रामकुमार थापाले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तपाइँको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने नारासहित आर्थिक बर्ष २०७९/०८० मा नगरका कूल एक हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिने बताए । उनले विपन्न पहिचान कार्यक्रम अन्तर्गत पहिलो चरणमा पहिचान भएका अति विपन्न ३०० परिवारलाई नगर सहुलियत कार्ड प्रदान गरि खाद्यान्नमा सहुलियत दिने कार्यक्रम रहेको जनाए । उनले नगर गौरवका योजनाहरुको कार्यान्वयनका लागि माथिल्लो तहका सरकारसंग आवश्यक बजेट माग गरिने पनि उल्लेख गरेका छन ।
प्रस्तुत बजेट तथा कार्यक्रममा हाल वडा नं १ देखि ७ सम्म विपन्नहरुका लागि बनाइएका घरमा बास्तविक भुमीहिनहरुको पहिचान गरि बसोबासको व्यवस्था मिलाइने पनि उल्लेख छ । सुरक्षित आवास कार्यक्रमलाई निरन्तरताका लागि माथिल्लो सरकारसंग बजेट माग गर्ने प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।
बजेट तथा कार्यक्रममा सबैका लागि सबै र कोही एक्लो छैन, जनता आवास , नगर प्रमुख , उपप्रमुख कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ भने दमकका नारी बिकासमा बराबरीलाई सार्थक बनाउने कार्यक्रमहरु पनि अघि सारिएको छ । ६८ बर्षमाथि र पूर्ण अपाङगता भएकालाई चाडपर्व खर्च वापत रु. २००० हजार प्रदान गर्ने , सडक मानवरहित शहर, दमक नगरको अभियानलाई पनि निरन्तरता दिइएको छ । नगरपालिकाले दमकमा आसपासका पालिकाहरुसंगको सहकार्य र समन्वयमा बेसहरा अर्थात सडकमा भेटिएका असहाय नागरिकहरुका लागि संरक्षण केन्द्र स्थापना गर्ने पनि योजना अघि सारेको छ । त्यस्तै दमकबासीलाई मोतिया विन्दु र प्रोस्टेजको निशुल्क उपचारका लागि व्यवस्था मिलाउने, राष्ट्रिय भुमी आयोगले नगरपालिकामा सञ्चालन गर्दै आएको सम्पर्क कार्यालय मार्फत यहाँका भुमी समस्याको समाधानका लागि पहल गर्ने, दमकमा नै जिल्लास्तरको लागूऔषध प्रयोगकर्ता पुनस्र्थापना केन्द्र स्थापना गरिने नगर उपप्रमुख भट्टराईले उल्लेख गरेकी छिन । त्यसैगरी पहिलो नागरिक धिमाल जातीको लागि आवश्यक बजेट र कार्यक्रम ल्याइएको, साँस्कृतिक संघ संस्था तथा समुहहरुलाई प्रज्ञा प्रतिष्ठानमा आवद्ध गराएर उनीहरुको संरक्षण र बिकास लक्षित कार्यक्रमहरु ल्याइएको पनि बजेट कार्यक्रममा उल्लेख छ ।
गरीबि निवारणका लागि लघु उद्यम अन्तर्गत थप दुई वडामा नयाँ एक सय उद्यमी तयार गर्ने , वडा वडामा योग शिविर , सामि परियोजनालाई निरन्तरता दिने, अनाथ आश्रम दमक ९, रत्न आश्रम दमक ४ र हाम्रो बाल आश्रम दमक २ को सञ्चालन सहयोगार्थ पनि बजेट कार्यक्रमले सम्बोधन गरेको जनाइएको छ । मुस्लिम महिलाहरुको उत्थानका लागि छुट्टै कार्यक्रम , दमकका वडाहरुमा रहेका नागरिक सचेतना केन्द्र एक देउ एक लेउ कार्यक्रम रतुवा र मावाको बगरमा बगर खेतीको सम्भाव्यता अध्ययन, दलितहरुको परम्परागत सीप बिकासलाई समायनुकुल परिमार्जन गर्ने, एक घर एक धारा, एक टयुबेल र एक शौचालयको कार्यक्रम समेत ल्याइएको छ । प्लटिङ गरि खाली रहेको जग्गामा भुमीहिनहरुलाई खेतीको अवसर दिइने , दमकमा एक किरिया घर निर्माण गर्न धार्मिक संघ संस्थासंग समन्वय गरिने , नगरबासीका लागि निशुल्क शव बाहनको व्यवस्था गरिने लगायतका आकर्षक कार्यक्रमहरुलाई पनि बजेट तथा कार्यक्रमले समेटेको छ ।
