दमक/ दमकमा रोजगार मेला सम्पन्न भएको छ । मेलाको उद्घाटनका क्रममा बोल्ने बक्ताहरुले दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा रोजगारी श्रृजना गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउदै दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा रोजगार सिर्जना गर्न सकिने जोड दिएका छन् ।


उनले रोजगारी अवस्था निर्माण गर्न देशका तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्न सके स्वदेशमा प्रशस्त संभावना रहेको उल्लेख गरे ।
ढकालले अहिले पनि नेपालमा उत्पादनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता रहेको भन्दै रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्ने खाँचो रहेको औल्याए ।

पछिल्लो समय भुकम्प, कोरोनालगायतका कारणले अर्थतन्त्रमा ठूलो असर परेको जनाउँदै ढकालले कृषि उत्पादनका कारण श्रीलंकाजस्तो नेपालको अवस्था आउने खतरा नरहेको बताए ।उनले भने, –‘धेरै अप्ठेरामा समेत नेपालको अर्थतन्त्र टिकेकाले अब पनि टिक्छ भन्ने विश्वास छ ’
सबै क्षेत्रले उत्पादन र रोजगारीमुखि कार्यक्रमहरु बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनले सुनाए । यस किसिमको रोजगार मेला सबैतिर आवश्यक रहेको उनको धारणा छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पहिलो पटक दमकमा यस प्रकारको रोजगार मेला भएको बताउँदै आफुहरुले रोजगार सिर्जना गर्ने र दक्ष जनशक्ति उत्पादनका बिषयमा जोड दिए । रोजगार मेलालाई सहयोग गर्नु र यसरी आयोजना गर्नु हाम्रो पहिलो खुड्किलो हो, उनले बताए ।

नगरपालिका उपप्रमुख रेगिना भट्टराईले दमक उद्योग बाणिज्य संघले रमाईलो गर्ने किसिमका मेला आयोजना नगरेर फरक किसिमको मेला लगाउने कार्य गरेको बताउदै यस कार्यक्रमलाई निरन्तर सहयोग रहने उल्लेख गरिन् । यसले यहाँका स्थानीयलाई रोजगार सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा लिएको समेत उनको भनाई छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार रोजगारदाता, रोजगारमूलक सीप सिकाउने प्राविधिक शिक्षालय तथा क्याम्पस, स्वरोजगार बनेका समूहको स्टलहरु राखिएका छन् । एकदिने रोजगार मेलामा आफ्नो दक्षता र सीपसहित बेरोजगारले फारम भरेको उनको भनाई छ ।

मेला सम्पन्न गर्न संघको प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिका संयोजक भरत चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा रोजगार दाता तथा रोजगारी अवसर खोज्ने श्रमिकहरुवीच रोजगारीका विभिन्न अवसरका बारेमा अन्तरकृया समेत गरिएको थियो ।

कार्यक्रमको दोश्रो खण्डमा उद्यमीहरु उमेशलाल श्रेष्ठ, भोलेश्वर दुलाल, टीका ढकाल लगायतले रोजगारीको अवस्था, आवश्यकता, सम्भावना लगायतका बारेमा अन्तक्रियात्मक कार्यक्रमलाई संवोधन गर्नु भएको आयोजक समितिका सचिव प्रकास अधिकारीले जानकारी दिए । यस्तै दमककै व्यवसायीक पशुपालक किसान सुदिप गौतम, भगवान बस्नेत,विक्रम कुमार साह, खोम बगाले थापा  आफ्ना अनुभव, रोजगारीको अवस्थाका बारेमा आफ्नो भनाइ राखेका थिए । दमक उद्योग बाणिज्य संघको आयोजना र दमक नगरपालिकाको सहयोगमा पहिलो रोजगार मेला  गरिएका थियो ।

Facebook Comments Box