पथरीशनिश्चरे/ पुर्वपश्चिम राजमार्गको पथरी –शनिश्चरे जयचौक सडक खण्डको सडक किनारमा बेबारिसे अवस्थामा भेटिएका एक वृद्धको उद्धार भएको छ ।
आज विहीवार बिहान ८ बजेको समयमा सो सडक खण्डमा नांङ्गै अवस्थामा लडिरहेका सुनसरीको लौकही घर बताउने ६५ बर्षका बुल्चन बर्मेललाई ईलाका प्रहरी कार्यालय पथरीले उद्दार गरेको हो ।
अचेत तथा बेवारिसे अवस्थामा भेटिएका उनलाई पथरी प्रहरीले उद्दार गरि उपचारका लागि पथरी शनिश्चरे नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । बिहान ८ बजे उपचारका लागि भर्ना भएका निज वृद्ध वेलुकी ४ बजे अस्पतालबाट डिस्चार्ज भएका थिए ।
विगत ३/४ दिन अघिदेखि खाना नखाएर कमजोर भै वोल्न समेत नसक्ने अवस्थामा भेटिएका निज वृद्धलाई नगर अस्पतालको आकस्मिक सेवामा उपचार सेवा प्रदान गरिएको नगर अस्पतालकी स्वास्थ्यकर्मी सुजता कट्टेल ढकालले बिताएकी छिन ।
उनका अनुसार अचेत अवस्थामा भेटिएका निज वृद्धलाई स्लाईन पानी चढाइएको, रगत सम्वन्धि सीआरवी, ईएसआर, एल एफ टी , जस्ता विभिन्न जांच पनि गरिएको थियो। दिउँसो हल्का किसिमको खाना र नास्ता समेत दुई पटक खुवाएपछि उनको स्वास्थ्यमा अपेक्षित सुधार हुदै गएपछि आवश्यक औषधि उपलब्ध गराई पुनः ईलाका प्रहरी कार्यालय पथरीलाई जिम्मा लगाईएको नगर अस्पतालका प्रमुख मुरारी प्रसाद आचार्यले बताए ।
सोहि सन्दर्भमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतमले निज वृद्धलाई आवश्यक वातावरण तयार गरी सवारी साधन मार्फत घरसम्म पुर्याउने पहल गरिएको बताए ।

 

Facebook Comments Box