काठमाडौं/ सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए ।
मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा र्पुयाउनका लागि पनि छलफल भएको बताए । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।