दमक/ गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुवस्तीका वाढी प्रभावित नागरिकहरूलाई विपद् व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।
श्री नयाँ श्रीनाथ गणका नेपाली सेनाको टोलीले आज शुक्रबार बाँसको चाङ, केराको थाम र प्लास्टिक आदिको डुंगा बनाएर त्यहाँका बाढी प्रभावित नागरिकलाई विपद् व्यवस्थापन तालिम दिएको हो ।
श्री नयाँ श्रीनाथ गण चाराआली नेपाली सेनाका मेजर अभिषेक विस्टको नेतृत्वमा आएको टोलीले जेष्ठ नागरिकहरूका लागि तालिमसहित स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो । उनीहरूको स्वास्थ्य जाँचसंगै निशुल्क औषधिसमेत वितरण गरिएको थियो ।


गौरीगञ्ज गाउँपालिका वडा नं. १ को समन्वयमा सञ्चालित कार्यक्रममा वडाध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड सदस्यहरू रेखा राजवंशी, राजभक्त सुनुवार लगायतको सहभागिता थियो ।
गौरीगंज गाउँपालिका वडा नं. १ खोलाको बाढीले वर्षेनी जनधनको ठुलो नोक्सान हुने क्षेत्रका रुपमा चिनिन्छ । कनकाई, बिरिङ, कमल, बनियानीलगायतका नदीले बर्खाका बेला वितण्डा मच्चाउने गरेका छन् । त्यही विपद्का बेला कसरी उद्धारको काम गर्ने भनेर सुरक्षाकर्मीसहित सरोकारवालाले टुनुवस्तीमा कृत्रिम अभ्यास प्रस्तुत गरेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

