स्थानीय तह निर्वाचनमा देशभरका धेरै पालिकामा नेकपा एमालेले गठबन्धनको सामना गर्नु पर्यो । दमकमा भने केन्द्र सरकारमा रहेको दलीय गठबन्धनमा राप्रपा समेत आवद्ध भएपछि नेकपा एमाले अन्य ठाउँको तुलनामा अझ धेरै तिल्मिलाउनु स्वभाविक थियो ।
यसले दमक नगर प्रमुख र उपप्रमुख पदमा गतिलो झडका पनि दियो एमालेलाई । तर आफूलाई कार्यकर्तामा आधारित संगठन भएको दाबी गर्ने एमालेले दमकका प्राय वडाहरुमा हासिल गरेको जितले त्यसलाई पुष्टि गरेको पनि छ ।
दमकका १० मध्ये ७ वटा वडामा एमालेले जित निकाल्यो । एमालेले १० मध्ये ५ वटा वडामा नयाँ र ५ वटामा पुरानै अनुहारलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो । एमालेले उम्मेदवारी तय गर्दानै पुराना र नयाँ अनुहारलाई उत्तिकै महत्व दिएबाट चुनावी परिणामको पूर्वानुमानमा दख्खल राखेको भन्ने बुझ्न गाह्रो छैन । साविकका ५ जना वडाध्यक्षका उम्मेदवार मध्ये ४ जनाले जित हासिल गरे । तिनै मध्येका एक हुन वडा नं २ का प्रजापति सापकोटा । उनले १ हजार ४ सय २७ मत ल्याएर वडाध्यक्षमा जित हासिल गरे ।
स्थानीय तह निर्वाचन २०७४ मा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका सापकोटा दोश्रो ( ३० बैशाख २०७९) मा भएको दोश्रो निर्वाचनमा आफनै पार्टीका तर्फबाट बागी उम्मेदवार हुनु तत्कालिन एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीका तर्फबाट पनि उम्मेदवारी रहनु र कांग्रेस , माओवादी र राप्रपासहितको गठबन्धनका बाबजुद ३७ मतको अन्तरमा पुनःवडाध्यक्षमा निर्वाचित भएर आफूलाई भाग्यमानी उम्मेदवार सावित गराउन सफल भएका छन । निर्वाचनका सन्दर्भमा सापकोटा भन्छन–दमकमा अरु धेरै वडामा हाम्रो पार्टीका बागी उम्मेदवार थिएनन, एकीकृत समाजवादीले पनि सबै वडामा उम्मेदवारी दिएको थिएन तर हाम्रो २ नम्बर वडामा विशेष गरी मेरा विरुद्ध धेरै शक्ति लागिपरेका थिए तर पनि कसैको केही लागेन । मेरो जित त्यति सहज थिएन र धेरैले पत्याएका पनि थिएनन ।
को हुन सापकोटा ?
विसं २०१७ असार १७ गते पाँचथरको गोपेटारमा आमा लक्षीमा र बुबा नारदमणी सापकोटाको माइलो छोराका रुपमा जन्मिएका प्रजापति सापकोटाको दमकमा बसोबास २०२२ साल अर्थात ५ बर्षको हुँदा देखिनै शुरु भएको हो ।
बेलडाँगीको सरस्वती निमाविमा कखरा सिक्दाको क्षण अझै स्मरणमा छ सापकोटालाई । विद्यार्थी उमेरमै वामपन्थी विद्यार्थी संगठन मार्फत जानी नजानी राजनीतिमा होमिएका सापकोटा भन्छन –२०३६ सालदेखि नै म राजनीतिमा लागेको हँु । पार्टी सदस्यता चाहिं २०४६ सालमा तत्कालिन नेकपा मालेको लिएको हुँ ।
सापकोटा २०४२/०४३ सालतिर पहिलो पटक चुनाव लडेर जितको अनुभव सम्हालिसकेका व्यक्तित्व हुन । नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेद्वार बनेर वडा सदस्यमा निर्वाचित भएका थिए उनी । जनप्रतिनिधिको जिम्मेवारी लगत्तै उनले त्यसबेला लगभग २०४९ सालतिर यातायात क्षेत्रको व्यवसायमा पनि मेलो पकडेका हुन ।
त्यसबेला कम संख्यामा सार्वजनिक यातायातका साधन हुँदा त्यस्ता सवारी साधनको महत्व निक्कै थियो । यातायात व्यवसायीका रुपमा रहँदा २०५४ सालतिर सापकोटा कोशी यातायात व्यवसायी संघको सदस्य बने । त्यसपछि क्रमश उनी पूर्वाञ्चल यातायात संघको उपाध्यक्षका रुपमा २०५८ मा निर्वाचित भई लगातार २०७३ साल सम्म सो जिम्मेवारीमा रहे । यातायात व्यवसायीका रुपमा सक्रिय भएपनि उनले राजनीतिक रुपमा तत्कालिन नेकपा एमालेको २०५० देखि २०५२ सम्म १७ नं इलाका कमिटी सदस्य भएर पार्टी जिम्मेवारी सम्हालेका थिए ।
त्यसबीचको २०५५ देखि २०६७ सम्म दमक २ को वडा सचिव , २०६२ देखी २०७३ सम्म वडाको सर्वदलीय संयन्त्र सदस्यको रुपमा रहेर जिम्मेवारी बहन गरे । सो अवधि भित्रै २०७२ देखि पार्टीको क्षेत्रीय कमिटी सदस्यमा निर्वाचित भएका सापकोटा २०७४ सालको स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका वडा नं २ को वडाध्यक्षमा निर्वाचित भए । सापकोटा त्यसबेला वडाध्यक्षमा १ हजार १ सय ५२ मत ल्याएर विजयी भएका थिए । निर्वाचित वडाध्यक्ष भएपनि यातायात क्षेत्रमा क्रियाशीलता र अनुभवका आधारमा उनले वडाध्यक्षको जिम्मेवारी संगसंगै दमकको यातायात तथा ट्राफिक व्यवस्थापन समिति संयोजकको पनि जिम्मेवारी पाएका थिए ।
कर्मचारीतन्त्रमा कमिसन रोक्न सुझाव
जनप्रतिनिधि हुनुका नाताले अहिलेको केन्द्र सरकारदेखिनै सुधार गर्नुपर्ने कुराहरु धेरै देखेको सापकोटा बताउँछन । स्थानीय तहदेखि माथिल्ला निकाय सम्म कर्मचारी संयन्त्रमा भ्रष्टाचारको गन्ध हटन नसकेको उनको बुझाई छ । नगरपालिकामा होस वा अरु निकायमा कर्मचारी हाबी भएको बताउँदै वडाध्यक्ष सापकोटा भन्छन–बिकास गर्ने हो भने सबैभन्दा पहिला योजनाहरुमा कमिसनको चलखेल बन्द गर्न सक्नु पर्छ ।
बर्षौदेखि जग्गाको स्वामित्व पाउन नसकेका सर्वसाधारणलाई जोतभोगका आधारमा जग्गाको स्वामित्व अर्थात जग्गा धनीपूर्जा दिन ढिलाई गर्नु नहुने उनको सुझाव छ ।
मालपोत र नापी कार्यालयमा सेवाग्राहीले पाउनुपर्ने सेवा चुस्त, पारदर्शी र प्रभावकारी बनाउन नीतिगत रुपमा नै सरकारले लाभकरको लागि मुल्यको सिमा अंक बढाएर ५० लाख सम्म कायम गर्नुपर्ने र जग्गाको मुल्याङकन निर्धारण गर्ने अधिकार वडा समितिलाई नै दिनुपर्ने उनको सुझाव छ । त्यसो गर्न सकिए मात्रै जग्गाको किनबेचका सिलसिलामा हुने राजश्व छली नियन्त्रण हुनुका साथै व्यवहारिक समेत हुने उनको तर्क छ ।
त्यसैगरी यातायातका क्षेत्रमा रहेका विकृति विसंगती हटाएर राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिने यातायात व्यवसाय क्षेत्रलाई सरकारले सम्बन्धित विज्ञ तथा जानकारहरुसहितको एउटा आयोग नै बनाएर त्यसै मार्फत यातायात क्षेत्र सञ्चालन गर्नुपर्ने वडाध्यक्ष सापकोटाको सुझाव छ ।