दमक/ दमक नगरपालिकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले ल्याब सञ्चानलको तयारी भएको हो ।
ल्याब सेवा सञ्चालनका लागि नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले आज बिहिबार सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी छन । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागि थप प्राबिधिक जनशक्तिको आवश्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवश्यक रहेको पाईएको नगर स्वास्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा उपप्रमुख प्रसाइँले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरि तयारी थाल्न निर्देशन दिएकी छन ।
स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भएपछि मधुमेह (सुगर), जण्डीस, युरिन, स्टुल लगायतका परिक्षण गर्नसकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले जानकारी बताए । यसबाट प्राथमिक परिक्षण गरी थप परिक्षण गर्नु परेमा दमक अस्पताल रेफर गरिने उनले बताए ।
सरकारले स्थानीय तह कार्यान्वयनमा आएदेखिनै आधारभुत स्वास्थ्य सेवा वडा तहबाटै सूचारु गर्ने नीति लिएको भएपनि भौतिक पूर्वाधार तथा अन्य प्राविधिक, जनशक्ति अभावका कारण स्तरीय सेवा दिन कठिनाई भइरहेको बताइएको छ ।
