दमक/ झापाको निर्वाचन क्षेत्र नं ५ का पालिका प्रमुखहरुमा एमाले पक्ष कमजोर देखिएको छ । यो क्षेत्र अन्तर्गतका ४ पालिका मध्ये पालिका प्रमुख एउटामा मात्रै एमालेको अग्रता छ । तीन पालिकामा भइरहेको मतगणना अनुसार एमाले इतर पक्षले अग्रता लिएको देखिन्छ ।

दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा ५०९१ मतसहित अग्रस्थानमा छन भने एमालेकी गीता अधिकारीले ४४९५ मत ल्याएकी छिन । कमल गाउपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राई मतगणनाको शुरुवातदेखिनै अग्रस्थानमा छन । राईले ५३८६ मत ल्याउदा एमालेका भिमप्रसाद राईले ४११९ मत ल्याएका छन । एक्ला एक्लै चुनावी प्रतिस्पर्धा रहेको गौरीगञ्ज गाउपालिका अध्यक्षमा कांग्रेसकी फुलवती राजवंशीले ५३५ मत ल्याएकी छिन भने एमालेका विजय अग्रवालले ५०७ मत ल्याएका छन । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा अहिले सम्म प्रगति गर्न सकेको छैन । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले ३१५१ मत ल्याउदा कांग्रेसका रोहित साहले २९७४ मत ल्याएका छन ।
दमकमा गणना भइसकेका वडा नं १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन । वडा नं १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन भने १० मा कांग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन । त्यस्तै गौरादहको वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन । कमलका ३ वडामा गणना सकिदा एउटा वडामा एमाले र दुई वडामा एमाले इतरले जित हासिल गरेको छ । वडा नं १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नी कोइरालाले वडाध्यक्ष पद जितेका छन ।

गौरीगञ्जको १ नम्बर वडामा भएको मतगणनाका बिषयलाई लिएर विवाद भएपछि अहिले सम्म वडाको फाइनल तथ्याङक औपचारिक रुपमा बाहिर ल्याइएको छैन । त्यहा वडाध्यक्षमा कांग्रेस–एमालेको बराबर मत भएको प्रचार भएको छ तर कांग्रेसले मतगणनामा ९२ वटा फर्जी मतपत्र फेला परेको जिकिर गरेपछि अहिले सो बिषयमा सर्वदलीय बैठक बसिरहेको छ ।यद्यपी गौरीगञ्जको एक नम्बर वडा भने क्षेत्र नं ४ मा पर्ने वडा हो ।  गौरीगञ्ज गाउँपालिकाका ६ मध्ये अन्य ४ वटा वडा भने क्षेत्र नं ५ मा पर्छन ।  झापा क्षेत्र नं ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यहाको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा नै हलचल ल्याउने पूर्वानुमानहरु बाहिर आइरहेका छन ।

Facebook Comments Box