छत्रपति सुवेदी झापाको ग्रामिण भेगमा परिचित नाम हो । नेकपा एमालेको विभिन्न तहमा आफनो जिम्मेवारी सम्हाल्दै उनी हाल पार्टीको १ नम्बर प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य हुन । सुवेदीलाई एमालेले आसन्न स्थानीय तह निर्वाचनमा गौरादह नगर प्रमुखको उम्मेदवारका रुपमा अघि सारेको छ ।
३० बैशाखमा हुने स्थानीय तहको दोश्रो निर्वाचनमा सालिन र भद्र स्वभाव भएका सामाजिक तथा राजनीतिक व्यक्तित्व सुवेदीलाई एमालेले नगर प्रमुखको उम्मेदवारका रुपमा लिएर यतिबेला मतदाताको घरदैलोमा पुगिरहेको छ । घरदैलोको क्रममा शुक्रबार मध्यान्ह गौरादह ८ को भुँडेसिमलमा भेटिएका नगर प्रमुखका उम्मेदवार सुवेदीले भने– “हिजो बैगुन्धुरा थियौं, आज यहा छौं, हाम्रो चुनावी अभियान निरन्तर छ” ।

उनले भर्खरै मात्रै आफनो पार्टीको स्थानीय चुनावी घोषणा पत्र सार्वजनिक भएकाले मतदातालाई आफूहरुका चुनावी एजेण्डाबारे जानकारी गराउने काम भइरहेको बताए । उनले भने– “चुनावी घोषणा पत्रमा समेटिएका कुराहरु हामी जस्ताको तस्तै कार्यान्वयन गर्नेछौं मतदाता सामु हाम्रो प्रतिबद्धता छ” । स्थानीय नागरिकहरुले भोग्दै आएको नदी कटानदेखि युवा, महिला, बालबालिकाका समस्याहरु, कृषि क्षेत्रमा आधुनिकीकरणदेखि समग्र शिक्षा, स्वास्थ्य , रोजगारका बिषयहरु समेटिएका छन । गौरादह नगरको समग्र बिकासको एजेण्डा हाम्रो प्रतिबद्धतामा समेटिएको छ ।

गुमेको ‘ साख ‘ फर्काउने प्रयास

पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको दोश्रो ठुलो स्थानीय तहका रुपमा रहेको गौरादहमा अघिल्लो निर्वाचनमा नगर प्रमुख पद गुमाउदा देशव्यापी रुपमा आलोचना खेप्नु परेको थियो एमालेले । कांग्रेसका रोहितकुमार साह नगर प्रमुखमा निर्वाचित भएका थिए । झिनो मतान्तरले एमालेका मदन अधिकारी नगर प्रमुख हुनबाट रोकिनु पर्दा त्यसको नकारात्मक सन्देश गएको थियो पार्टीमा ।

तत्कालिन गौरादह , महारानीझोडा , जुरोपानी , कोहोबरा र बैगुन्धुरा गाविसको समायोजनबाट बनेको गौरादह नगरपालिका तत्कालिन अवस्थामा एमालेको राम्रो प्रभाव भएको पालिकाका रुपमा हेरिएको थियो । यो भुगोलसहितको तत्कालिन झापा क्षेत्र नं ६ बाट दुई पटकसम्म एमालेका हालका जिल्ला अध्यक्ष दिपक कार्की संविधान सभा सदस्यमा निर्वाचित भएका थिए भने यही पालिका समेतको आशिंक भुगोल समेटने प्रदेश सभा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेश सभामा एमालेकै युवा नेता तथा पूर्व मन्त्री हिक्मत कार्की निर्वाचित भएका थिए । यसकारण पनि गौरादहको यो भुगोललाई एमालेको पकड क्षेत्रका रुपमा लिने गरिन्छ । निर्वाचनकै दौरानमा रहेका नगर प्रमुखका उम्मेदवार सुवेदीले भने – “मतदाता कसैको पेवा होइनन, यसपटक हामीले यहाँ गत चुनावमा गुमेको साख फर्काउनेछौं” ।

को हुन उम्मेदवार सुवेदी ?

तत्कालिन कोहोबरा गाविस हालको गौरादह नगरपालिका वडा नं ५ का का निर्वाचित वडाध्यक्ष छत्रपति सुवेदीको राजनीतिक यात्रा भने निक्कै अघि पुख्र्यौली थलो ताप्लेजुङबाट भएको हो । २०१३ सालमा जन्मिएका सुवेदीले २०३९ देखि २०४३ साल सम्म ताप्लेजुङ जिल्ला पञ्चायत सदस्यका रुपमा रहेर काम गरिसकेका छन । उनले राजनीतिक परिवर्तनसंगै २०४७ सालमा नेकपा एमालेतर्फ राजनीतिक यात्रा अघि बढाएका हुन । उनी एमालेको गाउ, इलाका कमिटीमा रहेर पनि सांगठनिक सक्रियता देखाइसकेका छन ।

एकताका पेशाले कृषिजन्य उत्पादनको किनबेचमा संलग्न व्यापारी पनि हुन सुवेदी । उनले सामाजिक क्षेत्रमा लामो समय सम्म कोहोबराको भद्रकाली माविको व्वस्थापन समिति अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका छन । उनकै अगुवाईमा रतुवा नदी नियन्त्रण तथा उपभोक्ता समिति गठन गरेर दमकदेखि कोहोबरासम्मका विभिन्न खण्डमा नदी नियन्त्रणको काम भएको छ ।

 

Facebook Comments Box