दमक/ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा स्थानीय निर्वाचनका उम्मेदवारहरु टुंगो लगाएको छ । यो समाचार तयार पार्दा सम्म पार्टीले औपचारिक रुपमा उम्मेदवारहरुको नाम घोषणा नगरेपनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु मार्फत नेता, कार्यकर्ताहरुले जिल्लाका प्राय सबै स्थानीय तहका उम्मेदवारहरुको तस्विरसहित नाम सार्वजनिक गरेका छन । यद्यपी कतिपय स्थानीय कार्यकर्ताहरुले उम्मेदवारका बिषयमा सामाजिक सञ्जालमै असन्तुष्टी पनि पोखिरहेका छन ।
दमक नगरपालिकामा एमालेले नगर उपप्रमुखको अनुभव सम्हालिसकेकी , पार्टी केन्द्रीय सदस्य गीता अधिकारीलाई मेयर र प्रदेश कमिटी सदस्य तथा पूर्व नगर कमिटी अध्यक्ष अम्बिका खनाललाई उपमेयरको उम्मेदवार बनाएको छ । एमालेले दमकका १० वटै वडामा वडाध्यक्षका उम्मेदवारहरु समेत टुंगो लगाएको जनाइएको छ ।
एमाले स्रोतका अनुसार दमकका १० मध्ये ५ वटा वडामा एमालेले हालका वडाध्यक्षलाई पुन उम्मेदवारका रुपमा दोहोरयाएको छ भने अन्य पाँच वडामा नयाँ अनुहारलाई स्थान दिएको छ । पुन उम्मेदवार बन्ने अवसर पाउने बहालवाला वडाध्यक्षहरुमा वडा नं २ मा प्रजापति सापकोटा, ३ मा नबिन बराल, ५ मा इन्द्र गुरुङ, ६ मा टेकबहादुर थापा र १० मा बोधराज न्यौपाने रहेका छन । वडा नं १ मा यस अघिको निर्वाचनमा वडाध्यक्ष निर्वाचित राप्रपाका तारा प्रसाद अधिकारीसंग निकटतम प्रतिस्पर्धी बनेका हरि न्यौपानेलाई पुनः उम्मेदवार बनाएको छ । वडा नं ४ मा झसराज ढकाल , ७ मा राधाकृष्ण आचार्य, ८ मा दिपेश दाहाल र ९ मा कुबेर भट्टराइलाई वडाध्यक्षको उम्मेदवार बनाउने एमालेको अन्तिम तयारी छ । दमकमा उम्मेदवारको नाम एकपछि अर्को गर्दै बाहिरिएसंगै पार्टी भित्र तिब्र असन्तुष्टि देखिएको छ ।
दमकमा ठुलो संख्यामा पुरानै जनप्रतिनिधिहरुलाई पुन उम्मेदवारको अवसर दिएको एमालेले दमकसंगै जोडिएको कमल गाउँपालिकामा हालका उपाध्यक्ष बेनु प्रसाद शिवाकोटीलाई पाखा लगाउँदै स्थानीय नेता भिम राईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । उपाध्यक्षमा उषा भण्डारीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी र राई पालिका अध्यक्षमा पार्टीका तर्फबाट प्रमुख दाबेदारका रुपमा थिए । कमलमा एमाले भित्र उम्मेदवार चयनका बिषयलाई लिएर देखिएको असन्तुष्टी सामाजिक सञ्जालहरु मार्फत बाहिर आएको छ ।
त्यसैगरी गौरादहमा एमालेले छत्रपति सुवेदीलाई नगर प्रमुख र जलबर्षा राजवंशीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । सुवेदी तत्कालिन कोहोबराका समेत पूर्व जनप्रतिनिधि हुन । उनी हालका बहालवाला वडाध्यक्ष हुन ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा एमालेले चार बर्ष अघि एमालेमा प्रवेश गरेका तत्कालिन महाभारा गाविसका अध्यक्ष विजयकुमार अग्रवाललाई पालिका अध्यक्षको उम्मेदवार बनाएको छ भने गौरीगञ्ज गापा वडा नं १ की उदियमान युवा नेतृ पुजन न्यौपाने ( कुँवर)लाई पालिका उपाध्यक्षको उम्मेदवार बनाएको छ । अग्रवाल नेपाली कांग्रेसबाट तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै एमालेमा प्रवेश गरेका नेता हुन । उनी दुई कार्यकाल महाभारा गाविसको अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए भने संविधान सभा निर्वाचनमा तमलोपाको तर्फबाट तत्कालिन झापा क्षेत्र नं ६ मा संविधान सभा सदस्यको पनि उम्मेदवार बनेका थिए ।
एमालेले शिवसताक्षी नगरमा मेघाहाङ थोप्रा (रोशन) लाई मेयर र नरमाया कार्कीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ भने कनकाई नगरपालिका प्रमुख र उपप्रम्ुाखमा हालकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
भद्रपुर नगरको मेयरमा असारु राजवंशीलाई उम्मेद्वार बनाउने भएको छ । उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय एमालेको १ नम्बर प्रदेश कमिटीले गरेको छ । विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाउने भएको छ । उपमेयरमा नगेन्द्र संग्रौला उम्मेद्वार बन्दैछन । एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भने अर्जुनधारा नगरपालिकामा एमालेले मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली (इन्दिरा) लाई उम्मेदवार बनाउँदैछ । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न ११ र १२ वैशाखको मिति तय गरिएको छ ।