दमक/ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का सहइञ्चार्ज हिक्मत कुमार कार्कीले सत्तारुढ दल सम्मेलित गठबन्धनलाई एमालेले निर्वाचन मार्फत परास्त गर्ने दाबी गरेका छन ।
प्रेस चौतारीले दमकमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचन घोषित मितिमानै गराउन पनि एमालेले दबाब दिने बताए ।
कुनै पनि बहानामा घोषित निर्वाचन पछि सार्न ,धकेल्न खोजे त्यो संविधान प्रतिकुल हुने र त्यस्तो कार्य एमालेलाई स्वीकार्य नहुने उनको भनाई छ । तत्कालिन प्रदेश १ सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भइसकेका कार्कीले आवधिक निर्वाचननै लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दे लोकतन्त्र र संविधान कार्यान्वयनसंगै संघीयताको अभ्यासलाई संस्थागत गर्न निष्पक्ष,स्वतन्त्र , धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सवैको ध्येय हुनुपर्ने समेत औल्याए ।
नयाँ वर्षसंगै यस वर्ष निर्वाचनमय हुने भन्दै उनले त्यसका लागि सरकार र सरकारका बाहिरका राजनीतिक दल, नागरिक समाज सवैको सकरात्मक सहयोग हुनुपर्ने बताए ।
