दमक/दमक १ का २ सय जना महिलाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा पहिलो पाइला नेपाल नामक सामाजिक संस्था र सिरस एजुकेशनको व्यवस्थापनमा आज ( शनिबार) महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सो संख्यामा महिलाहरुले सेवा लिएका हुन् । शिविर व्यवस्थापनको जिम्मेवारी पाएको पहिलो पाइला नेपाल दमक शाखाका कोषाध्यक्ष मेघनाथ फूयाँलका अनुसार शिविरमा महिला रोग विशेषज्ञ डा. राजकिशोर यादव नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
दमक अस्पताल परिसरमा सञ्चालन गरिएको सो शिविरमा सो अस्पतालको प्राविधिक सहयोग रहेको थियो । दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको अध्यक्षता र दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीको प्रमुख आतिथ्यमा शिविर सञ्चालन गरिएको पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष छवी बाँस्कोटाले जानकारी दिनु भयो । कार्यक्रममा सो वडाका अतिरिक्त आसपासका महिला दिदीबहिनीहरुले समेत स्वास्थ्य परीक्षण सेवा लिएका बताइएको छ ।
दमक नगरपालिका र वडा कार्यालयहरुले स्वास्थ्य सम्बन्धि जनचेतना जगाउँदै सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा पुरयाउन अभियानकै रुपमा दमकका केही वडाहरुमा शिविर सञ्चालन गरेको बताइएको छ ।
नगरपालिकाले यस अघि यसैसाता ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै दमक ५ मा रहेको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको केन्द्रिय कार्यालय परिसरमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा करीब एक हजार सर्वसाधारणले स्वास्थ्य जाँच सेवा लिएका नगरपालिकाकी उपमेयर गीता पौडेल ( अधिकारी)ले जानकारी दिइन् । केहि समय यता दमकमा सामाजिक गतिबिधी गर्दै आएको पहिलो पाइला नेपाल र दमकमा सञ्चालनमा आएको सिरस एजुकेशनले पहिलो पटक स्थानीय सरकारसंगको सहकार्यमा सो शिविर सञ्चालन गरेका हुन् । त्यसैगरी दमक ९ को वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविरमा कूल ४ सय ११ जनाले निशुल्क स्वास्थ्य परीक्षण परीक्षण सेवा लिएका वडा सदस्य समिन रिजालले जानकारी दिनु भयो ।