दमक/ जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको नवनिर्मित भवन सोमबार उदघाटन गरिएको छ । १ नम्वर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भवन उदघाटन गरिएको हो ।
सो अवसरमा मन्त्री कार्कीले सरकारले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मवल बढ्ने हुँदा सुरक्षाकर्मीहरुको न्यूनतम आवश्यकता पूरा गर्नु सरकारको दायित्व भएको बताए । सो अवसरमा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने विश्वास व्यक्त गरे । जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुब्र कुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव काली प्रसाद पराजुली, झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल लगायतको आतिथ्य रहेको थियो ।
१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजारको लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।

Facebook Comments Box