दमक/ कान्छी श्रीमती र प्रेमी मिलेर दिनेश सिग्देलको हत्या गरेको घटनाको अनुसन्धानमा सफलता हासिल गरेको भन्दै प्रहरी नाययव उपरीक्षक नरेन्द्र कुँवरलाई उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको छ ।
धरान–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान गरि सो घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सफलता हात पारेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरेको हो ।
गत फाल्गुन ४ गते धरान ४ स्थित जंगलमा सिग्देलको शव भेटिएको थियो । उनको टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा सो शव बाँझो–१ घर भई बिराटनगर महानगरपालिका–३ मा अस्थाई बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको थियो ।
शवको पहिचान भएसंगै घटनामा संलग्न मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र बिराटनगर महानगरपालिका–०४ का २९ बर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । कान्छी श्रीमती अनिताको योजनामा पौष २२ गते सिग्देलकै कोठामा घाँटी थिचेर उनको हत्या गरेको समेत अनुसन्धानबाट खुल्न आएको थियो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
