दमक/ दमक नगरपालिकाको १० औं नगर सभा शनिबार सम्पन्न भएको छ । १३ फागुनमा शुरु भएको १० औं नगर सभा शनिबार सम्पन्न भएको हो । सो नगर सभा हाल बहाल रहेका जनप्रतिनिधिहरुको यो कार्यकालको अन्तिम नगर सभा हो । वर्तमान जनप्रतिनिधिहरुले आफनो कार्यकाल सकिँदै जाँदा निक्कै मेहेनत र आन्तरिक कसरत पुरा गरेर नगर सभा सम्पन्न गरेका बताइएको छ । नगरका जनप्रतिनिधिहरुले जग्गादातालाई सम्मान गर्नेदेखि थप अर्को एक व्यापारिक भवनको डिपिआर स्विकृत गर्ने काम समेत भ्याएका छन ।
सभाले बस्ती बिकास तथा जग्गा एकीकरण विधेयक र स्थानीय उद्योग प्रवद्र्धन विधेयक २०७८ समेत पारित गरेको छ ।
विधेयक सर्वसम्मतबाट पारित भएको नगर प्रमुख रोमनाथ ओलीले घोषणा गरेका थिए । सो अवसरमा उद्योग प्रवद्र्धन विधेयक आर्थिक बिकास समिति संयोजक इन्द्र गुरुङले पेश गरेका थिए । बिधायन समिति संयोजक बोधराज न्यौपानेले पूर्वाधार समितिको र वातावरण समितिका संयोजक टेक बहादुर थापाले समितिको प्रतिवेदन पेश गरेका थिए भने कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धीको प्रतिवेदन उपप्रमुख समेत रहेकी बजेट कार्यक्रम तर्जुमा समितिकी संयोजक गीता अधिकारीले पेश गरेकी थिइन ।
नगर सभाले कोरोना महामारीका कारण व्यवसायीहरुलाई व्यवसाय करमा दिइएको छुट सुविधाका लागि यस अघि दिइएको म्याद सकिएकोमा आगामी चैत मसान्त सम्मका लागि सो म्याद थप गर्ने प्रस्ताव पनि पारित गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिनाले जानकारी दिए ।
त्यस्तै सभाले दमकको सुनचाँदी लाइनमा निर्माण हुने व्यापारिक भवनको डिपिआर स्विकृत गर्नुका साथै दमक ३ मा निर्माण गरिने तय भएको मदन भण्डारी रंगशाला निर्माण सम्बन्धि सम्झौता अनुमोदन समेत गरेको छ । नगर सभाको समापनका अवसरमा नगर भित्र विभिन्न वडा कार्यालय तथा स्वास्थ्य केन्द्रका भवनहरु निर्माणका लागि नगरपालिकालाई जग्गा उपलब्ध गराएको भन्दै झण्डै ५० बढी जग्गादाताहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको छ । त्यस्तै नगर सभामा शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विशिष्ट योगदान पुरयाएको ठहर गर्दै दमक ५ निवासी प्राध्यापक , लेखक तथा साहित्यकार खेमलाल पोखरेललाई सम्मान गरिएको छ । पोखरेल लेखन क्षेत्रमा नेपाली साइनो बिधाको अभियान्ता हुँदै विश्वव्यापीकरण भइसकेको अंग्रेजी भाषाको एउटा विधा साइनोका प्रणेताका रुपमा विश्वमाझ परिचित छन ।





