दमक/ शिवसताक्षी उद्योग वाणिज्य संघको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार सम्पन्न निर्वाचनको बिहिबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा लोकतान्त्रिक–प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका उम्मेदवार याम काफले विजयी भएका छन ।
आफना प्रतिस्पर्धी रामनरेश शर्मालाई ७ मतले पछि पार्दै दुधेका स्थायीबासिन्दा काफले अध्यक्षमा निर्वाचित भएका हुन् । काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेशकुमार मिश्र ५७४ मत प्राप्त गरेर विजयी भएका छन भने सोही पदका अर्का उम्मेद्वार कमलप्रसाद तामाङ्गले ५६३ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा ६१५ प्राप्त गरी विष्णुप्रसाद प्रसाई विजेता भएका छन् । उनका प्रत्यासी सुवोकुमार शाहले ५१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा ६५८ मत ल्याएर कृष्णप्रसाद खरेल विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वार मन्दिरा देवी प्रसाईले ४६३ मत प्राप्त गरेकी छिन् । महासचिवमा टंक प्रसाद मैनाली विजयी भएका छन् । उनले ५९६ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार टंकप्रसाद सिटौलाले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उद्योग सचिव पदमा ५५४ मत प्राप्त गरी बेदप्रसाद थपलिया विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वारल योगेश्वर बरालले ५३१ मत प्राप्त गरेका छन् । बाणिज्य सचिवमा मेनुकादेवी बास्तोलालाई ७ मतले पछि पार्दै भोजराज ढकाल विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् । १२६० मतदाता रहेको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो ।

Facebook Comments Box