दमक/ झापाको दमकस्थित हंसे दुम्से सामुदायिक बन उपभोक्ता समुहको नेतृत्व चयनका लागि आश्चर्यजनक दलीय गठबन्धन बनेको छ । शनिबार हुने निर्वाचनका लागि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गबन्धन भएपछि दमकको राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ ।
सर्वसाधारण वन उपभोक्ताहरुले दलीय भागवण्डाका आधारमा नेतृत्व चयन गरेर आफूहरुको अधिकारलाई कुण्ठित बनाउन नहुने भन्ने आवाज उठाउँदै आएका भएपनि दमकमा धेरै जसो राजनीतिक दलका नेता, कार्यकर्ताहरुका लागि आर्थिक रजाइँ गर्ने थलोका रुपमा  यही वन भएका कारण प्रमुख दलका स्थानीय नेताहरुबीच भागवण्डाको अभ्यास हुने गरेको छ । कांग्रेस – एमालेको संयुक्त प्यानलबाट नेकपा एमालेका चन्द्र प्रसाद गुराँगाईं उपभोक्ता समुहको अध्यक्ष पदमा उम्मेद्वार बनेका छन भने राष्ट्रिय पजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी र संघीय लिम्बुवान मञ्च नेपालको संयुक्त प्यानलबाट राप्रपाका विजय बरालले अध्यक्षमा उम्मेद्वारी दिएका छन ।
राष्ट्रिय राजनीतिमा काँग्रेससहित पाँच दलबीच गठबन्धन छ भने एमाले र राप्रपा अलग अलग छन । कांग्रेस र एमालेबीच वन उपभोक्ता समुहको निर्वाचनमा भएको यो गठबन्धनलाई दमकको स्थानीय राजनीतिमा आश्चर्यजनक गठबन्धन पनि भन्न थालिएको छ । यो गठबन्धनले नजिकिँदै गएको स्थानीय निर्वाचनलाई समेत प्रभाव पार्ने स्थानीय राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । वन उपभोक्ता समुहको उपाध्यक्षमा कांग्रेस– एमालेको प्यानलबाट पदम लिम्बु र राप्रपा–माओवादीसहितको संयुक्त प्यानलबाट नन्दि दंगालले उम्मेद्वारी दर्ता गराएका छन ।

Facebook Comments Box