दमक / नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वले दमकमा पार्टीका तर्फबाट सञ्चालन गरिने एक बर्षे कार्ययोजनासहित ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्ता परिचालनसहित त्यस्तो नारा ल्याएको हो ।
पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष कूल बहादुर बस्नेत (रवि) ले जानकारी दिए । बस्नेतले पार्टीको स्थानीय कमिटीले जनताका साना मसिना समस्याहरुलाई पनि उत्तिकै महत्व दिएर समाधानको जिम्मेवारी लिने प्रतिबद्धता रहेको बताए । पार्टीलाई वर्गीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौँ ।’– अध्यक्ष बस्नेतले भने ।
यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गरेको पनि उनले जानकारी दिए । स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतको भनाई छ । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । महिनामा प्रत्येक वडाले कम्तीमा एक सय घरमा घरदैलोको कार्यक्रम गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । जसले माओवादीको संगठन सुदृढिकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘प्रत्येक महिना र वाार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘पार्टी कमिटीमा आवद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गरिनेछ ।’
माओवादीले दमकमा रहेको १० वटै वडामा एउटा वडमा कम्तीमा पाँचवटा टोल समिति निर्माण गर्ने उनले बताए ।
यसैबीच नेकपा माओवादी केन्द्र दमक नगर समितिले नगरका दश वटै वडामा वडा कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्र दमक नगर समितिले आइतबार शहीद दिवसको अवसरमा भर्चुअल माध्यमबाट दशवटै वडा कार्यालय उद्घाटन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । माओवादी केन्द्र प्रदेश–१ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भर्चुअल माध्यमबाट एकैपटक दशवटा वडा कार्यालय उद्घाटन गरे । वडाकार्यालय उद्घाटन गर्दै मिक्सोले पार्टीका स्थानीय तहका कमिटीलाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले जनताका साना–साना समस्या बुझेर काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् ।