दमक/ प्रजातन्त्रका सेनानी तुर्षा हेमरमको २४ औं स्मृति सभा मंगलबार झापाको कन्काईमा सम्पन्न भएको छ । कन्काई ७ स्थित तुर्षा हेमरम स्मृति प्रतिष्ठानद्धारा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकास शर्माले प्रजातन्त्र प्राप्तीको आन्दोलनमा स्वर्गीय तुर्षा हेमरमले पुरयाएको योगदानको प्रशंसा गरे । हेमरमले केवल सन्थाल समुदायको लागि मात्र नभएर सबै समुदाय र क्षेत्रका जनताको उन्नति र प्रगतिको लागि उठाएको आवाज र बिचार अहिले पनि पार्टीको लागि महत्वपूर्ण रहेको बताए । हेमरमको बिचारलाई अब पार्टीले स्थापित गर्न सके मात्र उनीप्रति सच्चा सम्मान हुने उनले बताए ।
उनले अब फेरी आन्दोलनको नाममा कुनै दलले झण्डा उठाउन नपर्ने गरी राजनीतिमा परिवर्तन ल्याउनु अहिलेको आवश्यकता भएको औंल्याए ।
महामन्त्री शर्माले अहिले मुलुकमा ब्यवस्था ठिक छ अब अब्यवस्थामा सुधार गरौ भन्दै सबै राजनीतिक दललाई अब त्यो अभियानमा एकताका साथ अघि बढ़न आग्रह गरे । महामन्त्री शर्माले सन्थाल लगायत पिछडिएको र अल्प संख्यक समुदायको संरक्षण र प्रवद्र्धनको लागि पार्टीको तर्फबाट नीतिगत कार्यक्रमहरू संचालनमा ल्याइने प्रस्ट पारे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, कन्काई नगर प्रमुख राजेन्द्र पोखरेल, पूर्व सांसद डिल्ली प्रसाद सिटौला, संविधान सभा सदस्य मोहन टुडु, कांग्रेसका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सन्थाल बिकास संघका अध्यक्ष बलराम हेमरम लगायतले पनि बोलेका थिए । प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
