दमक/नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले पाँचदलीय गठबन्धन विरुद्ध सशक्त रुपमा कलम चलाउन पार्टी सम्बद्ध पत्रकारहरुलाई निर्देशन दिएका छन । आज ( सोमबार) झापाको गौरादहमा पार्टीको जनवर्गीय संगठन प्रेस चौतारी नेपाल झापाको आठौं जिल्ला अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका गुरुङले पाँचदलीय गठबन्धन राष्ट्रियता र समृद्ध नेपालको बाधक भएको भन्दै तिनका विरुद्ध पत्रकारहरुलाई जोडतोड साथ कलम चलाउन आग्रह गरेका हुन । शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव राष्ट्रवादी नेता हुनै नसक्ने दाबी गर्दैै नेता गुरुङले पाँच दलीय गठबन्धनलाई पञ्चहरुको संज्ञा दिए ।
उनले गठबन्धनका शीर्ष नेताहरुको नाम नै किटेर उनीहरु विदेशी दलाल हुन पनि भनेका छन । पत्रकारहरुलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह गरेका कार्यक्रमका पार्टी नेता तथा प्रेस चौतारीका नेता वक्ताहरुले अन्तत एमाले पार्टी मात्रै राष्ट्रवादी पार्टी भएको उल्लेख गरेर समाचार लेख्नु पर्ने सुझाव राखे । पत्रकारहरुको व्यवसायिकता भन्दा राजनीतिलाई प्राथमिकतामा राखेर आफनो मन्तव्य दिर्दै एमाले नेताहरुले प्रेस चौतारीलाई सशक्त पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरे । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले केपी ओली बाहेक अरु कसैलाई पनि राष्ट्रवादी हुन नसक्ने भन्दै अन्य पार्टीका नेताहरुलाई विदेशीका दलाल मात्रै हुन भनेका छन । कार्यक्रममा नेकपा एमालेका नेता एवं तत्कालिन प्रदेश एक सरकारका मन्त्री हिक्मत कार्की, पार्टीका झापा जिल्ला इञ्चार्ज अग्नी खरेल, प्रेस चौतारीका नेता लिलाराज भट्टराई , नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी , महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष एवं सहकारी अभियान्ता मिना ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा उपाध्यक्ष मनकुमार गदालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव प्रदिप परियारले गरेका थिए । अधिवेशनले संगठनको जिल्ला कमिटी चयन गर्ने जनाइएको छ ।
