दमक/ मेरुदण्डको पक्षघात भएकाहरुबीच दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो प्रतियोगिता भएको हो ।

दमक नगर उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा सञ्चालित प्रतियोगितामा सहभागीहरुले ह्विल चियरमा बसेर बास्केटवल खेलेका थिए । फरक क्षमता भएकाहरुमा पनि विशेष किसिमको प्रतिभा हुन्छ भन्ने प्रमाणित यो प्रतियोगिताले गरेको उपप्रमुख अधिकारीले बताइन ।
शनिवार दमक ८ स्थित झापा मोडल अंग्रेजी माविको प्राङगणमा भएको प्रतियोगितामा एक दर्जनभन्दा बढी खेलाडीहरुले ह्विल चियरमा बसेर मैत्रीपुर्ण बास्केटवल प्रतियोगितामा सहभागिता जनाएका हुन् । दूई समुहमा बाँडिएर मैत्रीपुर्ण प्रतियोगितामा स्पाईनल ईन्जुरी संघ प्रदेश १ का पदाधिकारी तथा सदस्यहरुले लगातर ४० मिनेटभन्दा बढि सहभागिता जनाका आयोजक मध्ये लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँईले झापामानै पहिलो पटक ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच मैत्रीपुर्ण खेल भएको दाबी गरे । हामी फरक क्षमता भएकाहरुको साथमा सधै छौ र रहन्छा– उनले भने ।
लायन्स लिडर अजकुमार अग्रवालले लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको सहकार्यमा भएको यो फरक किसिमको कार्यक्रम फरक क्षमता भएकाहरुका लागि मात्र नभएर सबैका लागि एउटा हौसला भएको बताए । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरु कमजोर हुन्नन् र छैनन् भन्ने पुष्टि भयो– उनले भने । अपाङगता भित्रको अर्को अपाङगता स्पाइनल इन्जुरी भएको बताउदै आफुहरु संगठित बन्दै गएको स्पाईनल ईन्जुरी संघ प्रदेश १ का अध्यक्ष विक्रम घिमिरेले बताए । पूर्वमा पहिलो पटक आफुहरुले बास्केटवललाई ब्यवसायीक रुपमा अघि बढाउने जमर्को गरेको पनि उनको भनाई छ ।
