दमक/बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष सरोकार राख्दै आएको दमकस्थित किवानिज क्लब दमकले अनाथ बालबालिकाहरुसंग सहभोजसहित आफनो पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लबले इलामको चुलाचुलीमा पर्ने नयाँ पर्यटकीय गन्तव्य चपेटीमा शनिबार दमक २ स्थित हाम्रो बाल आश्रममा आश्रित बालबालिकासंग सहभोजको आयोजना गरेर मनोरञ्जन दिलाउँदै पद हस्तान्तरण कार्यक्रम गरेको हो । सो अवसरमा क्लबका अध्यक्ष रवि केसीले नवनिर्वाचित अध्यक्ष शशिराज विष्टलाई क्लबको झण्डा प्रदान गरेर आगामी कार्यकालका लागि पदहस्तारण गरेका हुन ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष समेत रहेका केसीले क्लबले दमकस्थित सामुदायिक बिद्यालयमा अध्ययनरत दुई जना विपन्न बिद्यार्थीको कक्षा १० सम्मको अध्ययनका लागि अभिभावकत्व ग्रहण गरिएको, समय समयमा स्वास्थ्य तथा सरसफाइ सम्बन्धिका सचेतनामुलक कार्यक्रमहरु गरिएको , विपन्न समुदायका बालबालिकालाई जाडो याममा पर्ने प्रभावलाई मध्यनजर गर्दै कम्बल वितरण गरिएको जानकारी गराए । उनले दमकमा रहेका थुप्रै संघ संस्थाहरुको भिडमा स्वयंसेवी संस्थाका रुपमा स्थापित सो क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा योगदान दिनका लागि समुदायका सबैपक्षबाट भएको सहयोगप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाइँ, नेकपा एमालेका प्रतिनिधि घनश्याम खनाल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि वेदु गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

