दमक/ झापाको कमल ७ स्थित ठुलो बाह्रघरेबाट स्कूलचौन जोडने सडक तीन करोड रुपैया लागतमा कालोपत्रे हुँदैछ । नेपाली कांग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बु मार्फत सो बजेट विनियोजन भएको सो योजना सम्बन्धी आज शनिबार नेपाली कांग्रेस कमल ७ ले ठुलो बाह्रघरेमा सरोकारवाला तथा स्थानीय उपभोक्तासंगको अन्तरक्रियामा जनाइएको हो ।
ठुलो बाह्रघरे हुदै स्कुलचौन गौरादह ५ सम्म कालोपत्रे सडक निर्माणको लागि सो बजेट बिनियोजन भएकोप्रति स्थानीयबासी खुशी छन । अन्तरक्रिया कार्यक्रममा कांग्रेसकी केन्द्रित सदस्य समेत रहेकी नेतृ लिम्बुले लामो समयदेखि सन्तुलित र समानुपातिक बिकासको अवसरबाट बञ्चित सो ठाउँको बिकासको लागि यस पटक संसद बिकास कोष बाट बजेट उपलब्ध गराइएको बताइन । स्थानीयसंगको अन्तरक्रियामा सांसद लिम्बुले आगामी दिनमा पनि यस क्षेत्रको बिकासमा आफनो तर्फबाट सबै किसिमको सहयोग हुने प्रतिबद्धता जनाइन । उनले आम नेता कार्यकर्तालाई पार्टी भन्दा माथि उठेर जनताको सेवामा जुटन आव्हान गरिन । सो अवसरमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण उपभोक्ताहरु सहभागी थिए ।
