विराटनगर/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा पनि नजाने र प्रतिनिधिसभामा एमालेको अवरोधलाई पनि कायम राख्ने बताएका छन । उनले आउँदो चुनावसम्मनै त्यस किसिमको अवरोध कायम राख्ने चेतावनी पनि दिएका हुन । शनिबार विराटनगरमा पत्रकारहरुको जिज्ञासामा ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने चेतावनी दिएका हुन । आफूहरूले पार्टीबाट १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएकोले सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको तर्क छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो । सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरिरहेका छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् । नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ ।’ पनि भनेका छन ।

 

Facebook Comments Box