दमक/ दमक ३ मा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज ( शुक्रबार) भएको अन्तिम सेमिफाइनलमा सामाजिक युवा क्लब काठमाडौंलाई हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक ३ को खेलकुद उपसमितिका तर्फबाट खेलको शुरुवातमै गणेश हामरुमले सामाजिक युवा क्लब विरुद्ध निर्णायक गोल गर्दै टिमलाई फाइनलका लागि स्थान सुरक्षित गराएका हुन ।
सो खेलको म्यान अफ द म्याच पनि हामरुम घोषित भएका छन । प्रतियोगितामा भोली ( शनिबार) कुनै पनि खेल हुनेछैनन । पर्सी ( आइतबार ) आयोजक र पथरी स्पोर्टिङ क्लबबीच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक समितिका संयोजक विरेन्द्र चापागाइँले जानकारी दिए ।