दमक/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नवनिर्वाचित खुल्ला तर्फका ३५ केन्द्रीय सदस्यहरु मध्ये चार जना बिद्याबारिधी गरेर डाक्टरको उपाधी पाएका नेताहरु परेका छन । कांग्रेसको पदाधिकारीमा उम्मेदवार रहेका कुनै पनि बिद्यावारिधीको उपाधी प्राप्त गर्ने नेताहरु निर्वाचित हुन नसकेको चर्चाका बीच केन्द्रीय सदस्यमा भने तत्कालिन महामन्त्री डा. शंशाक कोइरालासहित चार नेता खुल्ला तर्फबाट निर्वाचित भएका हुन । डा. कोइरालाले सबैभन्दा बढी ३८३६ मत प्राप्त गरेर चर्चामा आएका छन । उनलाई पार्टी सभापतिको दाबेदारका रुपमा हेरिएपनि पछिल्लो समयमा आएर सभापतिमा पदमा उनले उम्मेदवारी दिएनन । नातामा दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार बनेका कारण उनले उम्मेदवारी नदिएको भनिएपनि उनले सभापतिका पाँच उम्मेदवार मध्ये कतै पनि खुलेका थिएनन । डा. कोइरालासंगै केन्द्रीय सदस्यमा पूर्व अर्थमन्त्री समेत रहेका डा. रामशरण महत, प्रा.डा. गोविन्दराज पोखरेल र डा. गोपाल दहित पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । त्यसैगरी वर्तमान सरकारका बहालवाला गृहमन्त्री बालकृष्ण खाँण पनि लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।
शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो । खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । निर्वाचित ३५ जना मध्ये १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।