झापा/ गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा स्थानीय दुई परिवारका पति पत्नीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् ।
प्रहरीका अनुसार गत कार्तिक ११ गते विहान ११ बजे देखि हराईरहेका हुसेन मियाको लाश सेफटी टयाङकी भित्र दुर्गन्धित अवस्थामा भेटिएको थियो । मृतक हुसेनकी श्रीमती नुरजन खातुनले ईलाका प्रहरी कार्यालय दमकमा दिएको निवेदनपछि दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका महमद सद्दामको घर कोठाको झ्यालको पल्लामा रगत लतपतिएको फेला पारेको थियो । सो पछि प्रहरीले बढाएको सुक्ष्म अनुसन्धानका क्रममा घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायतका बस्तुहरु बरामद भएको थियो । पक्राउ परेका पाँचै जनाको सो हत्यामा संलग्नता देखिएपछि पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।