दमक/अटो मोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि चुनावी दौडमा रहेको ध्रुव थापा नेतृत्वको प्यानल शनिबार दमक आएको छ ।


सो प्यानलका उम्मेदवारहरुले दमकका व्यवसायीहरुसंग आफनो चुनावी एजेण्डासहित समग्र निर्वाचन कार्यक्रमका बिषयमा अन्तरक्रिया समेत गरेको छ । अध्यक्षका प्रत्यासी थापाले आफनो प्यानल मोफसलका व्यवसायीहरुको हकहित र अधिकारका लागि केन्द्रित हुने बताउँदै सहयोगका लागि पूर्व क्षेत्रका व्यवसायीहरुसंग अपिल गरे । यस अघिनै अध्यक्षको पदमा दाबी गरेका थापालाई यसपटक संगठनको अध्यक्ष बनाउने पूर्व सहमति विपरित उम्मेदवारीको चर्चा शुरु भएकाले थापा नेतृत्वको प्यानलनै घोषणा गरिएको बताइएको छ । थापा नेतृत्वको प्यानलमा यसअघि नाडामा पदाधिकारी भैसकेका व्यवसायीको बर्चश्व रहेको कार्यक्रममा जानकारी गराइयो । त्यसैगरी केही नयाँ अनुहारलाई समेत समेटेर सो प्यानल खडा गरिएको दाबी गरिएको छ । प्यानलको औपचारिक घोषणा गरेर पूर्वका विभिन्न शहरमा निस्किएका थापाले विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग पनि अन्तरक्रिया गर्दै आइतबार जनकपुर पुगेका छन । नाडामा आफू विजय भए सबै व्यवसायीलाई समेटर अघि बढ्ने बताउँदै आएका थापाले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।
थापाले आफ्नो प्यानलमा आकाश गोल्छा, दिपेन्द्र कुमार मिश्रा, मोहन बाबु खड्का, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश सिग्देल, प्रदिपमान प्रधान, ऋद्धि कार्की, संजय खेतान र शुभासिस थपलियालाई समेटेका छन् । उनको प्यानलमा गाडी बिक्रेतादेखि स्पेयर पार्ट्स र इक्विपमेन्ट बिक्रेताको समेत प्रतिनिधित्व भएको देखिन्छ ।
नाडाको अध्यक्षमा हालसम्म थापासंग प्रतिस्पर्धाका लागि करण कुमार चौधरी देखिएका छन । सो संगठनको नयाँ नेतृत्वका लागि मंसिर २२ र २३ गते काठमाडौंमा साधारण सभा हुने जनाइएको छ ।
प्यानलको औपचारिक घोषणा गरेलगत्तै पूर्वको भ्रमणमा निस्किएका थापा अहिले आफू निकट व्यवसायीको समुह लिएर विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग अन्तरक्रिया गरिरहेका छन् । नाडामा आफू विजय भए सबै व्यवसायीलाई समेटर अघि बढ्ने उद्घोष गरेका उनले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।

 

Facebook Comments Box