दमक/ देशको सबैभन्दा ठुलो दल नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आज बुधवार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि निवेदन दर्ता गरेको हो ।
सो समुहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राखेको छ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता नयाँ पार्टीमा नजाने भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक) गठन भएको छ । ठाकुरको अध्यक्षतामा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन गरिएको हो । ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । ठाकुरले पार्टीको चुनाव चिह्न साइकल रोजेका छन ।

 

Facebook Comments Box