काठमाडौं/ प्रधानमन्त्री  केपी शर्मा ओलीले एमालेका पुराना अधिकांश मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  पार्टी अध्यक्ष  तथा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्त ठाकुर पक्षीयलाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । अब सरकारमा ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्री रहने भएका छन् ।    मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।  यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश  ठगुन्ना , वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा भएको अवस्थामा कमचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नपाउने भनि सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तार गरेका  हुन ।  ‌पहिलो पटक प्रतिनिधिसभा विघटन लगत्तै प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, मणी थापा लगायत केहि माओवादी नेताहरुलाई मन्त्रीमण्डलमा सहभागी गराई मन्त्रिपरिषद् विस्तार गरेपछि गत पुस ११ गते अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको भन्दै त्यस विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

हेर्नुहोस् नयाँँ मन्त्रीहरुको नामावली –

प्रधानमन्त्री केपी शर्मा ओली –रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
विष्णु पौडेल –उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव – श्रम तथा रोजगार
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

 

Facebook Comments Box