दमक/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत भएको संसद आफनै पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले विघठन गरेर चुनावको मिति तोकेपछि नेपालको राजनीतिमा नयाँ कोर्षको शुरुवात भएको छ । स्वयं नेकपाका सांसद तथा नेताहरु ओलीको यो कदमको विपक्षमा उभिएका छन । उनीहरुले ओलीको स्वैच्छारी आत्मघाती कदमको विरोधमा राजधानीमा प्रदर्शनदेखि पार्टीको औपचारिक बैठकमा ओलीलाई कारवाहीको सिफारिस गर्ने सम्मको साहस देखाएका छन ।
अहिले पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ । बालुवाटारमा भइरहेको बैठकमा संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन ।
बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियोे । उहाँको प्रस्तावलाई राष्ट्रपति कार्यालयले स्वीकृत गरी २०७८ सालको वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको आम चुनाव गर्ने घोषणा गरेको छ । त्यसैगरी प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेसँगैं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक बैठक आजै बस्दै छ ।
काँग्रेस पदाधिकारी र केही शीर्ष नेताहरुबीच बुढानीलकण्ठमा आकस्मिक बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संसद विघटनको प्रस्ताव लोकतन्त्र माथिकै प्रहार भएको प्रतिक्रिया काँग्रेसले दिइसकेको छ । बदलिदो राजनितिक परिवेशमा अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक डाकिएको शर्माले बताए । कांग्रेस र नेकपा दुवै अबको ५÷६ महिना भित्रैमा पार्टीको आन्तरिक महाधिवेशनको तयारीमा लागिरहेका बेला ओलीले हठात चालेको पछिल्लो कदमले ति पार्टीहरुको आन्तरिक महाधिवेशननै प्रभावित हुने खतरा देखिएको छ ।