विर्तामोड/नेपाली कांग्रेस भित्र १४ औं महाधिवेशनको मिति तय भएसंगै शुरु भएको आन्तरिक गुटबन्दीका क्रममा पार्टी महामन्त्री डा.शशांक कोइराला झापा आउनु भयो ।  झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले गुटबन्दीको पुष्टी हुने गरि १४ औं महाधिवेशनमा जसरी भएपनि शेरबहादुर देउवालाई नेतृत्वमा आउनबाट रोक्ने बताउँदै त्यसका लागि रामचन्द्र पौडेल र सिटौला पक्षबीच सहकार्य हुन सक्ने पनि संकेत गर्नुभयो ।


महामन्त्री कोइरालाले पार्टीको नेतृत्व परिवर्तननै आफूहरुको मुख्य लक्ष्य रहेको जिकिर पनि गर्नुभयो । उहाँले सभापति देउवाजीसंग पार्टी र देशका लागि कुनै सपना नभएको बताउँदै सभापति देउवा गुट चलाउने नेता मात्र भएको जिकिर गर्नुभयो ।
पार्टी सभापतिको दौडमा आफ्नो दाबी समेत पेश गर्दै उहाँले भन्नुभयो, ‘सभापतिको दौडमा म पनि छु । त्यस्तै, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत जसको नाममा सहमति जुट्छ, उसैलाई सभापति मानेर अगाडि बढ्ने गरि हामी गृहकार्यमा छौं ।’
सिटौलालाई पार्टी भित्र माहिर राजनीतिक खेलाडीको उपाधी दिँदै कोइरालाले महाधिवेशनसम्म सहकार्यको खेल अर्कै पनि हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

Facebook Comments Box